काठमाडौं- पूर्वगभर्नर चिरिञ्जीवी नेपालले सेयर कर्जामा ४/१२ (कुनै एउटा बैंक तथा वित्तीय संस्थाबाट चार करोड र सबै बैंक तथा वित्तीयसंस्थाबाट गरी १२ करोड रुपैयाँसम्मको सेयर कर्जा लिन पाउने व्यवस्था) को क्याप लगाउने समय गलत भएको बताएका छन्।
उनले पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैँ बजारप्रति सकारात्मक रहेको बताए। अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सरकारले निजी साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नुपर्ने समय आएको बताए।
सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे। उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर, अनुत्पादक क्षेत्र र साम्राज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए।
उनले सेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले सेयर बजारको विषयमा बोल्नुपर्ने जरुरी नभएको बताए। उनले विगत सात वर्षअगाडि जुन गतिमा सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिवर्तन नभएको बताए।
पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजीबजारको विकासका लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए। उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरू उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए।
यस्तै, उनले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकतामा नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका छन्। पूर्वगभर्नर नेपालले नेपाली सेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।