काठमाडौं– संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्न लागिएको भन्दै डा गोविन्द केसीले थालेको १२ औं अनशनलाई निरन्तरता दिने भएका छन्।
चाडबाड सुरु भएका कारण दशैंअघि स्थगित गरेको अनसन आज दिउँसो ४ः३० बजेदेखि पुनः सुरु गर्ने डा केसीले जनाएका छन्। ‘जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले मैले अनसन थालेको हुँ,’ डा केसीले भने। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी १७ बुँदे सुझाव समेत दिएका छन्। उनले बुझाएको सुझावपत्रमा संसदमा छलफलका क्रममा रहेको विधेयकमा दुर्गमका सामुदायिक विद्यालय पढेका र सीमान्तकृत विद्यार्थीलाई डाक्टरी पढ्न निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्ने सहितका व्यवस्था राख्नुपर्ने बुँदा रहेका छन्।
विधेयकका महत्वपूर्ण बुँदाहरु सांसदले हटाउँदै माफियामुखी ऐन ल्याउन लागेको भन्दै डा केसीले प्रधानमन्त्रीलाई जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउन सुझाब दिएको बताएका छन्।
उनले माफियाका लागि राखिएका बुँदा हटाउँदै माथेमा प्रतिवेदनको मर्म अनुसार तीन करोड नेपालीको हितका लागि सुझाव समावेश गरिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।