काठमाडौं- एनएमबि बैंकले स्वीस इन्भेस्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम)सँग एक करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ। बैंकले सोमबार यससम्बन्धी सम्झौता गरेको हो।
सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्त्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ।
'नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो। नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरी सिफेम र एसडीसीबीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा हो,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाटको आधारमा सुविधा प्रदान गरेको बैंकले जनाएको छ। यस सम्झौताले एनएमबि बैंकको लगानीका स्रोतहरुलाई विविधीकरण गर्दै दिगो विकास गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बैंकले जानकारी दिएको छ। विशेषगरी वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्दर्भिकता अझै महत्त्वपूर्ण रहेको बताइएको छ।
सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु, साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने जानकारी दिएको छ।
नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले स्वीस इन्भेस्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्सको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल र स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुआत भएको बताएकी छन्। उनले यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, नेपाली लघु, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग पुग्ने बताएकी छन्।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपालमा नै पहिलोपटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने बैंक प्रतिबद्धतालाई थप गति दिएको बताए। उनले हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनका लागि निर्वाधरुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।