काठमाडौं– अफगानिस्तानमा सडक यातायातमार्फत् लामो दूरीको यात्रा गर्न चाहने महिलाहरूले अनिवार्य अनुमति लिनुपर्ने भएको छ।
सद्भावको प्रवर्द्धन र दुर्व्यवहार रोकथामका लागि भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर महिलाहरूलाई परिवारको नजिकको सदस्य नभएको खण्डमा ७२ किलोमिटरभन्दा बढी यात्रा गर्ने अनुमति नदिइने जानकारी दिएको हो।
‘७२ किलोमिटर (४५ माइल)भन्दा बढी यात्रा गर्ने महिलाहरूलाई परिवारको नजिकको सदस्य (पुरुष) नभएको खण्डमा अनुमति दिइने छैन,’ मन्त्रालयका प्रवक्ता सादेक अकिफ मुहाजिरले भने।
यस्तै, मन्त्रालयले सवारी साधन मालिकहरूलाई हेडस्कर्फ नलगाउने महिलालाई सवारी नदिन पनि आग्रह गरेको छ। केही हप्ताअघि मात्रै मन्त्रालयले अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई महिला कलाकारहरू प्रस्तुत गर्ने नाटक र साबुनको विज्ञापन देखाउन बन्द गर्न आदेश दिएको थियो। यस्तै, महिला टिभी सञ्चारकर्मीहरुलाई पनि प्रस्तुति दिँदा हेडस्कार्फ लगाउन आग्रह गरिएको छ।
सामाजिक सञ्जालहरूमा प्रसारित नयाँ निर्देशन अनुसार नागरिकहरुलाई सवारी साधनहरूमा गीत बजाउन रोक्न लगाइएको छ।
तालिवानले अगस्ट १५ मा सत्ता कब्जा गरेपछि सार्वजनिक क्षेत्रको भूमिकामा रहेका धेरै महिलाहरूलाई काममा फर्कन प्रतिबन्ध लगाएको छ। यस्तै, किशोरीहरुलाई माध्यमिक शिक्षाबाट धेरै हदसम्म बञ्चित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।