काठमाडौं- पुस २ गतेसम्मको तथ्यांकमा सामान्य बढेको वाणिज्य बैंकहरुको निक्षेप संकलन पुसको ९ गतेसम्म आउँदा फेरि घटेको छ। यता यस अवधिमा कर्जा लगानी बढ्ने क्रम भने रोकिएको छैन।
पुस २ गतेसम्म बैंकहरूमा कूल ४२ खर्ब ३८ अर्ब ९८ करोड रूपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन पुस ९ गतेसम्म आउँदा घटेर ४२ खर्ब ३४ अर्ब ९२ करोड रूपैयाँमा सीमित भएको छ।
मंसिर २४ गतेसम्म ४२ खर्ब २१ अर्ब ४२ करोड रूपैयाँ निक्षेप रहेकामा २ गतेसम्म पर्याप्त मात्रामा बढेको थियो। तर, त्यसयता निरन्तर घटिरहेको नेपाल बैंकर्स एसोसियसनले जानकारी दिएको छ।
चालु आर्थिक वर्षको सुरुआतबाटै वाणिज्य बैंकहरूले दिने कर्जाको मात्रा भने निरन्तर बढिरहेको छ। पुस २ गतेसम्म बैंकहरूले ४० खर्ब ८५ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए जुन ९ गतेसम्म आइपुग्दा ४० खर्ब ८८ अर्ब ३३ करोड रूपैयाँ कायम भएको छ।
मंसिर २४ गतेसम्म बैंकहरूले ४० खर्ब ७६ अर्ब ५८ करोड रूपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो। निक्षेपको मात्र घटेर कर्जा प्रवाह उल्लेखनीय दरमा विस्तार भए पनि बैंकहरूको निक्षेप/कर्जा अनुपात (सीडी रेसियो)मा भने सुधार आएको छ।
संघका अनुसार मंसिरको अन्तिम सातामा ९१.४९ प्रतिशतसम्म पुगेको सीडी रेसियो पुस ९ मा ९१.३ प्रतिशत कायम छ। बैंकहरूले असार मसान्तसम्म यो अनुपात ९० प्रतिशतमा झार्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।