काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजनको जारी लिगमा तीन विभागीय टोलीमध्ये त्रिभुवन आर्मीले सन्तोषजनक प्रदर्शन गरिरहेको छ भने नेपाल पुलिसकाे प्रदर्शन औसत छ। आर्मी अंक तालिकाको चौथो र पुलिस दशौं स्थानमा छन्। तर, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब भने लिगकै कमजोरमध्येको टोली बनेको छ।
अंक तालिकामा एपीएफ ११औँ स्थानमा छ। लिगमा १४ टोली छन् र दुईवटा रेलिगेसनमा पर्ने छन्। ६ खेल खेलेको एपीएफले पाँच अंक जोडेको छ। एपीएफभन्दा एक स्थान तल रहेको ब्रिगेड ब्वाइज क्लबको समान खेलबाट ५ अंक छ। यी दुई क्लबभन्दा तल ‘रेलिगेसन जोन’मा रहेका च्यासल युथ क्लबको चार र फ्रेन्ड्स क्लबको तीन अंक छ।
यसको अर्थ हो, एपीएफ रेलिगेसनको खतराबाट मुक्त छैन। अब उसको पहिलो उद्देश्य नै रेलिगेसनबाट जोगिने हुनेछ। २०६० सालदेखि लिग खेल्न थालेको यो टोलीले हरेक वर्ष रेलिगेसनबाट बच्न संघर्ष गर्नुपरेको छ।
यो वर्ष खेलेका ६ खेलमध्ये एपीएफले तीन खेल गुमाएको छ। एकमा जित र दुईमा बराबरी गरेको छ। एपीएफ पहिलो खेलमा नै ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोलले पराजित भएको थियो। त्यसैगरी दोस्रोमा च्यासल युथ क्लबसँग १–० र तेस्रोमा नवप्रवेशी सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो। चौथो खेलमा आएर बल्ल थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्दै एपीएफले पहिलो अंक बटुल्यो।
एपीएफले त्यसपछि भने सन्तोषजनक खेल देखायो। उसले रेलिगेसन जोनमा रहेको फेन्ड्स क्लबविरुद्ध ३–१ को जित निकाल्यो। लगत्तै अर्को खेलमा उपाधि न्यूरोड टिम (एनआरटी)लाई ३–३ गोलको बराबरीमा रोक्न सफल भयो।
‘ए’ डिभिजन लिगमा सहभागी १४ मध्ये ११ वटा सामुदायिक क्लब छन्। ती क्लब ‘सी’ डिभिजन छनोट, ‘सी’, ‘बी’ हुँदै ‘ए’ डिभिजनको यात्रा तय गरेका हुन्। तर, तीन विभागीय टोलीले त्यो प्रक्रिया पूरा गर्नै परेन। सीधै ‘ए’ डिभिजनमा प्रवेश पाए। तीमध्ये एपीएफ मात्र यस्तो क्लब हो, जसले अहिलेसम्म उपाधि जित्ने लक्ष्य बनाउनै सकेको छैन। हरेक लिगमा उसको लक्ष्य हुन्छ– आठौँ स्थानभित्र रहने।
जारी लिगमा पनि उसको लक्ष्य फेरिएको छैन। लिग सुरु हुनु एक दिनअगाडि ‘प्रि–लिग प्रेस कन्फेरेन्स’ प्रशिक्षक कुमार थापाले भनेका थिए, ‘हामीले धेरै ठूलो अपेक्षा गरेका छैनौं। पोहोर साल घाँटीसम्म आइसकेका थियौं। बालबाल बच्यौं। अघिल्लो सिजन १२औं स्थानमा रहे पनि यसपटक हामी कम्तीमा शीर्ष चार वा खराब नै खेले पनि आठौं स्थानसम्ममा रहनेछौं।’
विभागीय टोलीलाई ‘ए’ डिभिजन लिग चुनौतीपूर्ण हुन्छ। किनभने, यी टोलीमा विदेशी खेलाडी हुँदैनन्। अन्य क्लबले एक खेलमा तीन जनासम्म विदेशी खेलाडी मैदान उतार्न पाउँछन्। यही प्रावधानका कारण मनाङ मर्स्याङ्दी, मछिन्द्र, संकटा र सातदोबाटो विदेशी खेलाडीको बलमा उपाधि होडमा छन्।
सातदोबाटोका अजयी मार्टिन्सले जारी लिगको पाँच खेलमा चार गोल गरेका छन्। उनी हालसम्म लिगको सर्वाधिक गोलकर्ता हुन्। त्यसैगरी केन्याको राष्ट्रिय टोलीबाट खेलिसकेका २३ वर्षे पिस्टोन मुटाम्बाले पनि हिमालयन शेर्पाबाट ६ खेलमा तीन गोल गरेका छन्।
उनीहरुलाई गोल संख्यामा पछ्याउने नेपाली खेलाडी सुनिल बल, आशिष लामा, उत्तम राई र रुमेश बर्तौला हुन्। उनीहरु प्रत्येकले चार–चार गोल गरेका छन्। फरवार्ड लाइनमा मात्र नभइ मिडफिल्ड र रक्षापंतिमा पनि विदेशी खेलाडीहरुले राम्रै प्रदर्शन गरिरहेका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २०५७ सालदेखि विदेशी खेलाडीले खेल्न थालेका हुन्। २०६० सालमा काठमाडौं क्लबले केनेथ विलियम्स अनुबन्ध गरेपछि भने विदेशी खेलाडी नेपाली लिगमा निर्णायक भूमिकामा देखिए।
ब्रिगेड ब्वाइजले २०६२ सालको लिगमा नाइजेरियाका २१ वर्षीय फरवार्ड ओबागबेमिरो जुनियरलाई टोलीमा सामेल गरेको थियो। उनी २७ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता बनेका थिए। ब्रिगेड ब्वाइजले लिगमा नवौं स्थान हासिल गरे पनि नेपाली फुटबलमा अफ्रिकी खेलाडीको प्रभाव बढायो। त्यसपछि विभागीय टोलीबाहेक सबै ‘ए’ डिभिजन क्लबले विदेशी खेलाडीलाई प्राथमिकतामा राख्न थाले।
मछिन्द्रले २०६९ सालको लिगमा ब्राजिलियन मिडफिल्डर ड्यानियल बारोनीलाई भित्र्याएको थियो। उत्कृष्ट खेल कौशल भएका बारोनीले लिगका १६ खेलमा सात गोल गरेका थिए। तर, नेपालको मैदानको स्तर नाजुक रहेको भन्दै उनले आफूले उत्कृष्ट प्रदर्शन गर्न नसकेको दाबी गरे। इन्डोनेसियाको लिगबाट नेपाल पसेका बारोनी एक सिजन मछिन्द्रमा बसेर अर्को सिजन ब्राजिलियन क्लब क्रुजेरियो पुगे।
जारी लिगमा २९ विदेशी खेलाडी विभिन्न क्लबमा दर्ता छन्। तर, विदेशी खेलाडी भित्र्याउन एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्बललाई सहज छैन। त्यसको प्रभाव एपीएफ क्लबलाई परेको छ।
यी क्लबले आफ्नै मैदानमा अभ्यास गर्छन्। उनीहरू वर्षको ११ महिनासम्म प्रशिक्षणमा हुन्छन्। आफ्नो ‘रक्षासम्बन्धी गोपनीयता’ भंग हुने डरले यी क्लबलाई विदेशी खेलाडी राख्न अनुमति दिने नगरिएको हो। यसैकारण एपीएफलाई ‘ए’ डिभिजनमा टिकाउन संघर्ष गर्नुपरेको प्रशिक्षक थापाको भनाइ छ। उनीअघिका प्रशिक्षक राजेन्द्र थापाले पनि एपीएफलाई रेलिगेसनबाट जोगाउने रणनीति मात्र लिएका थिए।
प्रशिक्षकको उद्देश्य नै रेलिगेसनबाट बचाउने!
राजेन्द्र तामाङ यस सिजन मनाङको सहायक प्रशिक्षकको जिम्मेवारीमा छन्। उनले दुई सिजन एपीएफमा बिताउँदा क्लबलाई रेलिगेसनबाट बचाउन नै संघर्ष गरेका थिए। उनी २०७२ सालमा थ्रीस्टारको प्रशिक्षक सम्हालेपछि अर्को साल एपीएफ पुगेका थिए। तर, एपीएफमा उनको ‘करिअर’ सुखद् भएन। गत सिजन एपीएफ १२औं भएको थियो। कूल १३ खेलमध्ये एपीएफले दुईमा मात्र जित निकालेको थियो। तीन खेल बराबरी गर्दा आठ खेलमा पराजय भोगेको थियो।
तामाङले लिग सकिएपछि भनेका थिए, ‘एपीएफलाई कसरी रेलिगेसनबाट बचाउने भन्ने चिन्ता मात्र हुन्थ्यो, धन्न बचियो। झन्डै एक दशक लामो समयको ‘ए’ डिभिजनको हैसियत गुमाउनु परेन!’ उनको चिन्ता किन स्वाभाविक थियो भने नेपाली क्लब फुटबलको इतिहासमा जो झरे, तिनमा अधिकांश फेरि उक्लन सकेका छैनन्। उनीहरूको अस्तित्वसमेत बिलाउने गरेको छ।
त्यसमध्येका केही क्लब हुन्- अन्नपूर्ण, सुनाखरी, महावीर, ब्वाइज स्पोर्ट्स, स्वयम्भू, नोर्बुलिङ, लालुपाते टिम, नक्साल खेलमण्डल, काठमाडौं क्लब, बौद्ध, कोइलापानी, सुन्धारा, ज्ञानेश्वर, बालकुमारी, नघल टोल टिम, रानीपोखरी कर्नर टिम (आरसीटी) र मध्यपूर ठिमी। यी यस्ता क्लब हुन्, जो एक समय ‘ए’ डिभिजनमा प्रभाव छाडेका थिए।
त्यो डरलाग्दो तथ्यको जानकार क्लबका अधिकारीहरू बेलाबेला झस्किने गर्छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा होस् वा पोखराको मैदानमा उत्रिँदा, जोसुकै प्रशिक्षकको मनलाई एकै प्रश्नले खाइरहेको हुन्छ- कतै हामी पनि रेलिगेसनमा पर्ने त होइन? त्यसैले उपाधि होडमा नरहेका क्लबको उद्देश्य रेलिगेसनबाट जोगिनु मात्र हो। त्यसैका लागि विदेशी खेलाडी भित्र्याउन होडबाजी गर्छन्।
तर, एपीएफ जस्ता क्लबहरुले भने विदेशी मात्र नभइ स्तरीय स्वदेशी खेलाडीसमेत भित्र्याउन नसक्ने दाबी एपीएफका प्रशिक्षक थापाको छ। जसका कारण आफ्ना र अन्य क्लबका खेलाडीबीच तुलना नहुने उनको भनाइ छ। ‘मासिक दुई लाख तलब खाने खेलाडी र प्रहरी जवानको तलबमा खेल्ने खेलाडीको तुलना हुँदैन,’ उनी भन्छन्, ‘आफ्नै स्तरका टोलीसँग लगातार खेल गुमाएका छौं।’
स्तरीय खेलाडी ल्याउन ठूलो धनराशी लगानी गर्नुपर्छ। एक जना नेपाली खेलाडीले नै जारी लिगमा महिनाको न्यूनतम ८० हजार तलब बुझ्ने गरेको प्रशिक्षकहरु बताउँछन्। तर, एपीएफ जस्ता विभागीय क्लबले भने यति धेरै लगानी गर्न सक्ने अवस्था छैन।
यही कारण एपीएफ जारी लिगमा राष्ट्रिय टोलीबाट खेलेका एक खेलाडीको भरमा मात्र प्रतिस्पर्धा गरिरहेको छ। ती खेलाडी हुन्, आशिष लामा। उनी अघिल्लो सिजनका उच्च गोलकर्तासमेत हुन्। उनले कूल ९ गोल गरेका थिए। यस सिजनमा पनि ६ खेलमा ४ गोल गरेका छन्।
उनी निकै लयमा छन्। उनले ब्रिगेड ब्वाइजविरुद्ध गोल गर्दै बराबरी खेल बराबरीमा ल्याएका थिए। तर, दोस्रो हाफ फितलो खेल्दा ३–१ गोलले हार्न पुग्यो। उनले फ्रेन्ड्स क्लबविरुद्ध २ र एनआरटीविरुद्ध १ गोल गरेका छन्। टोलीमा उनलाई साथ दिने खेलाडीको अभाव छ। हुन त, एपीएफले लिगकै लागि भनेर स्पेनको मड्रिडमा खेल्दै आएका नेपाली खेलाडी आभास लामिछानेलाई हतारमा अनुबन्ध गरेको थियो। नेपाली फुटबल वृत्तमा भर्खरै मात्र आफ्नो परिचय बनाउँदै गरेका उनले लिगमा २ गोलका लागि ‘एसिस्ट’ मात्रै गरेका छन्।
‘आभास मड्रिडमा खेलिरहेको खेलाडी हो। एकेडेमीमा खेलिरहेको खेलाडी ल्याएर हामीले डेब्यू गराएका हौं। उनले राम्रो प्रदर्शन गरिरहेका छन्, तर, गोल निकाल्न सकेका छैनन्। यहाँको मैदानमा अभ्यस्त हुन केही समय लाग्छ,’ उनी भन्छन्।
एपीएफमा अन्य खेलाडी पनि जम्न सकेका छैनन्। भरपर्दा दुवै गोलरक्षक घाइते छन्। सुरुआती खेलमा नै घाइते भएका पहिलो रोजाइका राजु योगी मैदान फर्किन सक्ने अवस्थामा छैनन्। दोस्रो रोजाइका अमृतकुमार चौधरीको खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएको छ। उनीहरु नहुँदा नयाँ गोलरक्षक दिलकुमार योङहाङ लिम्बूलाई सातदोबाटोविरुद्ध ‘डेब्यू’ गराएको थियो। तर, उनको प्रदर्शन सन्तोषप्रद रहेन।
फरवार्ड र मिडफिल्डरमा विदेशी खेलाडी भित्र्याउन नसके पनि थापाले गोलरक्षक भने भित्र्याए। दुवै भरपर्दा गोलरक्षक घाइते भएपछि नेपालमै रहेका जापानी गोलरक्षक युया कुरियामालाई उनले अनुबन्ध गराएका हुन्। उनी च्यासलमा विदेशी खेलाडीको कोटा पूरा भएपछि त्यहीँ प्रशिक्षण गरिरहेका थिए।
लिगको पाँचौं चरणको खेलमा फ्रेन्ड्सविरुद्ध ‘डेब्यू’ गरेका होचो कदका कुरियामाले औसत प्रदर्शन गरे। दोस्रो हाफको अन्त्यतिर फ्रेन्ड्सले पेनाल्टी पाएपछि उनको परीक्षा भएको थियो। तर, प्रेजेन तामाङको प्रहार जोगाउन असफल भए। कुरियाको पहिलो खेलको प्रदर्शनबाट कुमार त्यति खुसी छैनन्।
‘हाम्रो टोलीमा गोलरक्षक नभएको कारण नै उनलाई अनुबन्ध गरिएको हो। अमृतको शल्यक्रिया गर्नुपर्ने भएको छ। राजु पनि शतप्रतिशत फिट छैनन्,’ उनी भन्छन्, ‘त्यसैले हामीले अन्य पोजिसन जस्तो गोलरक्षकमा जोखिम लिन पनि सकेनौं।’
रेलिगेसनबाट जोगाउन प्रशिक्षक थापा सफल होलान्?
करिब एक दशकको यात्रामा तीन विभागीय टोलीमध्ये एपीएफ सधैँ कमजोर रह्यो। जारी लिगमा उसले आफ्नो प्रभावशाली उपस्थिति जनाउन लिगका बाँकी सात खेलमा नै राम्रो प्रदर्शन गर्नुपर्नेछ। तर, अहिले भएकै खेलाडीको भरमा लक्ष्यमा पुग्न नसकिने प्रशिक्षक थापा बताउँछन्।
खेल जीवनमा थापाले निकै सफलता पाएका थिए। उनी राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी हुन्। २०४९ देखि २०६२ सालसम्म मनाङबाट खेल्दा थापाले २०५७, २०६० र २०६२ मा लिग उपाधि जित्दै ‘ह्याट्रिक’ गरे। २०५८, ५९ र ६१ सालमा लिग भएनन्। उनी मनाङका कप्तान थिए। २०११ सालबाट सुरु लिगमा ह्याट्रिक थोरै मात्र भएको छ।
२०६२ सालपछि मनाङ छाडेर एपीएफ क्लबसँग आबद्ध भएका उनले त्यहीँबाट खेलाडी जीवनको अन्त्य गरे। उनले प्रशिक्षकको रूपमा भने ट्रफी चुम्न पाएका छैनन्। ट्रफी चुम्न नपाए पनि एपीएफलाई राम्रो स्थानमा पुर्याउने उनको धोको छ। जसका लागि उनी कुरियामाजस्तै सस्ता खेलाडी क्लबमा ल्याउन चाहन्छन्।
‘स्तरीय विदेशी खेलाडी ल्याउन ४०/५० लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। त्यो नेपाली क्लबका लागि सहज पक्कै हुँदैन। गोलरक्षक पनि विदेशबाट नै ल्याउनुपरेको भए हामीलाई आर्थिक भार थपिने थियो,’ उनी भन्छन्, ‘त्यसैले नेपाली चेलीसँग विवाह गरेर नेपालमै बस्दै आएका मालीका एक अदामा दोमबिया छन्, उनलाई पनि खेलाइरहेका छौं।’ नयाँ फरवार्ड पनि खोजिरहेको उनी बताउँछन्।
विभागीय टोली भएकाले भौतिक पूर्वाधारमा एपीएफलाई कुनै कमी छैन। अरू क्लब प्रशिक्षण गर्ने मैदान नपाएर भौतारिरहँदा एपीएफसँग आफ्नै मैदान छ। खेलाडीहरूले नियमित प्रतियोगिता खेलिरहेका छन्। प्रशिक्षण पनि नियमित छ। तर, ‘स्टार’ खेलाडीको साथ नपाएकै कारण एपीएफले अनकूल नतिजा निकाल्न संघर्ष गरिरहेको प्रशिक्षक थापा बताउँछन्।
यो अवस्थाबाट एपीएफलाई उपाधि होडमा पुर्याउन मुस्किल छ। तर, विभागीय टोलीको साख जोगाउन रेलिगेसनबाट जोगाउनुपर्नेछ। यसपटक उत्कृष्ट आठभित्र रहेर अर्कोपटक उपाधि लक्ष्य राख्न पनि प्रशिक्षक थापाले टिममा सुधार गर्नुपर्नेछ। खेलाडीको रूपमा मनाङमा पाएको सफलता प्रशिक्षकको रूपमा एपीएफमा प्राप्त गर्न उनलाई कठिन छ। तर, अबको प्रयासले उनी प्रशिक्षकका रूपमा कति राम्रो रणनीतिकार हुन् भन्ने देखिनेछ। यसैकारण उनले सुधारिएर मात्रै होइन सम्हालिएर पनि मैदानमा नतिजा निकाल्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।