काठमाडौँ- दक्षिण अफ्रिकाका रंगभेद विरोधी अभियन्ता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वक्तव्य जारी गर्दै टुटुको निधन भएको जानकारी दिएका हुन्। टुटुले दक्षिण अफ्रिकामा रंगभेदविरोधी अहिंसात्मक आन्दोलन चलाएका थिए। सन् १९४८ देखि सन् १९९१ सम्म कायम रंगभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको उनी एक प्रमुख व्यक्तित्व थिए। उनलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।
इसाई पादरी टुटु दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मन्डेलाका समकालीन थिए। तर, टुटुले आफ्नो आन्दोलनको उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताउने गरेका थिए।
दलाई लामाका साथ टुटु।
रंगभेदी शासन समाप्त भएपछि राष्ट्रपति बनेका मन्डेलाले टुटुलाई रंगभेद नीति भएको समयमा दुवै समूहले गरेका अपराधको अनुसन्धान गर्न गठित सत्य निरुपण आयोगको प्रमुख नियुक्त गरेका थिए। तर, पछि उनको प्रतिवेदनलाई दुवै समूहले अस्वीकार गरेका थिए। रंगभेदी शासन समाप्त भएपछि दक्षिण अफ्रिकाको बहुजाति मिश्रणलाई बुझाउन आफ्नो देशलाई ‘इन्द्रेणी राष्ट्र’ नामाकरण गर्ने उनै थिए।
उनी सुरुमा शिक्षक थिए। सन् १९५३ मा विद्यालयहरूमा रंगका आधारमा विद्यार्थीमाथि विभेद गर्ने कानुन बनेपछि शिक्षण पेसा छोडेर चर्च पसेका थिए। उनी दक्षिण अफ्रिकाको एंग्लिकन चर्चका प्रमुख (बिशप) समेत बनेका थिए।
सन् १९९० को दशकको अन्त्यतिर उनलाई प्रोस्टेट क्यानसर भएको पत्ता लागेको थियो। पछिल्लो समय उनलाई क्यान्सरसँग सम्बन्धित धेरै वटा संक्रमण भएपछि निरन्तर अस्पताल भर्ना हुने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।