काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ। यस दिन पुँजीबजार मापक परिसूचक 'नेप्से' ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा उक्लिएको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १२.५३ अंकले बढेर २५२०.२३ अंकमा पुगेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतबार कारोबार रकम पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार कूल चार अर्ब ४९ करोड दुई लाख ६६ हजार रुपैयाँको मात्र कारोबार भएकोमा यस साताको पहिलो कारोबार दिन पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आइतबार कूल २३१ वटा कम्पनीका ८६ लाख एक हजार ९६५ कित्ता सेयर किनबेच भएका छन्।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ५.३८ अंकले बढेर ४८२.७४ विन्दुमा उक्लिएको छ। आज १५ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ।
यस्तै १४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ।
आज कारोबारमा आएका १३ मध्ये दुई उपसमूहको सेयर मूल्य घटेको छ भने बाँकी उपसमूहको सेयर मूल्य बढेको छ। आज जलविद्युत् र फाइनान्स उपसमूहका कम्पनीहरुको सेयर मूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।