काठमाडौं– हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखिएको र त्यसमा प्रहरीको समेत मिलेमतो भएको आरोप लगाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ।
हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले गृह मन्त्रालयमा गत बिहीबार उजुरी दर्ता गराएका थिए।
उजुरीमा उल्लेख भएअनुसार बराल गत असोज २२ गते झापा घर भई काठमाडौं बस्ने सुभस भेटवाललाई भेट्न नयाँ बानेश्वर पुगेका थिए। त्यहाँ भेटवाललगायत ४/५ जना तास खेलेर बसेका थिए। बरालले उनीहरुसँग मदिरा पिउँदै तास खेले। त्यसपछि उनी घर लागे। भोलिपल्ट हेर्दा उनको झोलामा रहेको बैंक अफ काठमाण्डू कमलादी शाखाको ७ थान चेक थिएन। त्यसपछि चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्र र परिसर टेकुमा उजुरीसमेत दिए। बैंकलाई भनेर चेक ब्लक गर्न लगाए।
बरालको निवेदन परेपछि परिसर काठमाडौंले भेटवाललाई टेकु बोलाएको थियो। भेटवालले उक्त ७ थान चेकमा जम्मा २ करोड २९ लाख रुपैयाँ रकम भरेको विषय सार्वजनिक भयो।
भेटवालले भने तास खेल्ने क्रममा उक्त चेक बरालले दिएको प्रहरी समक्ष बताएको उजुरीमा उल्लेख छ। तर आफूले चेक नदिएको चेक चोरेर रकम भरी हत्याउने उद्देश्य राखिएको बरालको आरोप छ।
उक्त चेक महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष असोज २५ गते दाखिला गरिएको थियो।
परीक्षणका लागि प्रहरीले आफ्नो हस्ताक्षर समेत लिएको र जाँच गरेपछि बोलाउने भनिएको अहिलेसम्म खबर नगरिएको बरालको भनाइ छ। पछि चेकमा भरिएको रकम तिर्न उल्टै एसएसपी सिंहले दबाब दिएको बरालले उजुरीमा उल्लेख गरेका छन्।
एसएसपी सिंहको सरुवा भएपछि पीडितको जानकारी बिना नै भेटवाललाई प्रहरीले चेक फिर्ता दिएपछि सो विषय सार्वजनिक भएको हो। भेटवाललाई तिर्नुपर्ने कुनै रकम नै भएको र खाली चेकमा रकम भरेर पैसा हत्याउन खोजेको त्यसमा प्रहरीसमेतले साथ दिएको भन्दै छानबिनको माग गर्दै बरालले गृहमा उजुरी दिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।