काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आधारमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरका श्रमजीवी वर्गमा अपिल गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले उक्त अपिल गरेका हुन्। माओको २६ डिसेम्बर १८९३ का दिन जन्म भएको थियो। अध्यक्ष दाहालले माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेताका रूपमा रहेको चर्चा गर्दै उनको योगदान विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको बताएका छन्।
‘क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ,’ अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ।’
जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको उनको भनाइ छ।
उनले महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायलाई आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्णरूपले केन्द्रित हुनसमेत अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।