काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि सेयरधनीको हितग्राही (डिम्याट) खातामा आइपुगेको छ। कम्पनीको उक्त सेयर दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ।
कम्पनीको सेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो। कम्पनीको स्टक सिम्बोल एमबीजेसी रहेको छ। कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको छ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ६० लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारी ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३ करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।