काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ।
बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब यूआरएलको माध्यमबाटसमेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ।
डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै विना चेक नगद निकाल्न÷पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचरलगायतका सुविधासमेत थप गरेको बैंकले जनाएको छ।
साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नति गरेको जनाएको छ।
‘एमभौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, एमक्यासको माध्यमबाट प्रयोगकर्ताहरुले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्यूआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरु रहेका छन्,’ बैंकका डिजिटल तथा ई-बैंकिङ प्रमुख विश्व सिंहले बताए।
मेगा स्मार्ट बैंकिङ मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवासम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दती खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत् भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङसम्बन्धी समस्या परेमा उजुरी दिनसक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ एप र वेबको माध्यमबाट उठाउन सक्ने बैंकले जनाको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।