फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापतिमा हारेर पनि आफूले जितेको बताएका छन्। शनिबार चितवनको देवघाटमा कोइराला सेवा समाजको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनी पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए।
'निर्वाचनमा हारजित हुन्छ। हारबाट सिक्नुपर्छ। हारबाट मैले पनि सिकें,' उनले भने, ' पहिलो कुरा परिवारका सबै सदस्य एक भए राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने पूर्वजहरुले भनेको सत्य रहेछ भन्ने सिकें। परिवारमा विभाजित हुँदा असफल हुने कुरा जान्ने अवसर पाएँ।'
पार्टीमा रूपान्तरण र पुस्तान्तरणको आफ्नो अजेण्डाले जितेको भन्दै उनले गर्व लागेको बताए।
डा कोइरालाले भने, 'कहिलेकाहीँ हारेर पनि जितिने रहेछ। मैले हारेर पनि जितेको छु। रूपान्तरण र पुस्तान्तरणको मेरो अजेण्डाले जितेको छ। त्यसमा मलाई गर्व छ।'
समाजलाई परिवर्तन गर्न नसक्नेले राजनीति नगरे पनि हुने उनले बताए।
नेता कोइराला पार्टीको महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठक छाडेर कोइराला समाजको कार्यक्रममा सहभागी हुन चितवन पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।