फाइल तस्बिर
गोरखा- गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)लाई टुंगोमा पुर्याउन गठबन्धनमा रहेका दलहरुबीच छलफल भइरहेको बताएका छन्।
गोरखा उद्योग वाणिज्य संघको १६औँ अधिवेशनको उद्घाटन गर्न आएका उनले पत्रकारसँगको भेटमा एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए।
'यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारणलाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो,' गृहमन्त्री खाणले भने, 'एमसीसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो, यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ।'
एमसीसी सम्झौतालाई टुंगोमा पुर्याउन सत्तारुढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन्। केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो।
फरक प्रसंगमा उनले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदै छ।
स्थानीय तह र आमनिर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै उनले अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताए। 'आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ, सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ,' गृहमन्त्री खाणले भने।
निर्वाचनमा सहयोग पुर्याउने सरकारको दायित्व भएको जनाउँदै उनले आयोगले ल्याउने प्रस्तावअनुसार सरकारले आफूलाई प्रस्तुत गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।