काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्।
शनिबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले नेकपामा हुँदा आफूहरु सँगै रहेको र अदालतले अनौठो तरिकाले अलग गराएको बताए। 'ढिलो-चाँडो हामी सँगै हुनेछौं,' उनले भने।
प्रचण्डले माधव नेपालमात्र होइन, बाबुरामलगायत विचार मिल्ने अरूसँग पनि सँगै हुने आफूलाई लागेको बताए।
तत्कालीन नेकपाको अन्तिम कालखण्डमा प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा थियो। तर, अदालतको फैसलापछि नेपाल एमालेमै फर्किएका थिए। पछि नेपालले एमाले विभाजन गर्दै नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए।
बाबुराम भट्टराई पनि तत्कालीन एकीकृत (नेकपा माओवादी)बाट २०७२ सालमा अलग्गिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।