काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले माओवादी सिद्धियोस् भन्नेलाई अहिले माओवादी नभइ नहुने अवस्था भएको टिप्पणी गरेका छन्।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पौडेलले नेपाल लाइभसँगको कुराकानीमा विगत १५ वर्षको अवधिमा माओवादी सिद्धियोस् भन्नेलाई समेत आवश्यकता बोध गराउन सफल भएको बताए।
‘माओवादीसँग सहकार्य नगरेर विगत १५वर्षमा कसैको केही चल्या छैन। कतिपयले माओवादीको आलोचना गर्छन्, उनीहरुलाई पनि माओवादी चाहिएको छ। माओवादी कसैसँग नमिलेर सक्दैन भन्ने मात्रै होइन,’ पौडेलले भने, ‘माओवादीसँग नमिलेर उनीहरु सक्दैनन्। माओवादीले यो संविधान बनाउनेमा यो प्रणाली ल्याउनेमा सबैभन्दा बढी रगत, पसिना, आँशु र दु:ख, कष्ट गरेको छ। यो प्रणालीमा ढलीमली गर्नेले माओवादी सिद्धियो भन्न मिल्छ?’
माओवादीले अरुलाई खोज्ने नभएर माओवादी सिद्धियो भन्नेहरु खोज्न बाध्य भएको पौडेलले दाबी गरे। ‘संसद्मा अंकगणित तल-माथि हुनसक्छ। २०४८ सालमै तेस्रो पार्टी भएको थियो। त्यसयता निर्वाचनमा जाँदै गएनौं। जनयुद्धको कोर्षमा गयौं। त्यसपछि निर्वाचन हुँदा पहिलो पार्टी भएर आयौं। त्यसपछिका चुनावमा दोस्रो, तेस्रो भयौं। त्यसपछि नेकपा बनेर आउँदा पहिलो पार्टी भयौं,’ एमालेप्रति लक्षित गर्दै पौडेलले भने, ‘नेकपा बनाउन माओवादीको पनि भूमिका भएर त एकता गर्नुभयो होला। माओवादी सिद्धियो भन्ने साथीहरुलाई भन्न चाहन्छु- तपाईंहरुलाई कृपया माओवादी आवश्यक छ। तपाईंहरुलेभन्दा माओवादी केन्द्रले पछिल्लो परिवर्तनका पक्षमा सबैभन्दा बढी दु:ख गरेको छ। मेहनत गरेको छ।’
माओवादीले परिवर्तन रक्षाका लागि कति भूमिका खेलेको छ भन्ने विषयमा जति पनि बहस गर्न तयार रहेको पौडेलले दाबी गरे। माओवादी सिद्धियो भन्नेहरुलाई आगामी चुनावमा देखाइदिने चुनौतीसमेत उनले दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।