काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनमा आफूहरुले समस्या महसुस नगरेको बताएका छन्। सत्ताधारी पाँच दलीय गठबन्धनको एक अध्यक्ष समेत रहेका उनले गठबन्धन टुटाउने प्रयास भने भइरहेको बताए।
केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रममा शनिबार उनले प्रतिगमनका विरुद्ध लड्न बनाइएको गठबन्धनले केन्द्रमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारीहरुलाई बालुवाटारबाट निकालेको र ६ वट प्रदेश सरकारबाट पनि निकालेको बताए।
'यहाँसम्म आउँदा गठबन्धन चलिरहेकै छ। त्यहाँ कुनै समस्या हामीले महसुस गरेका छैनौं', उनले भने, 'यद्यपि हिजो विघटन गर्न चाहने र संविधान उल्ट्याउन चाहने, क्रान्तिलाई उल्ट्याउन चाहने, समावेशी लोकतन्त्र उल्ट्याउन चाहने तत्वहरु चुप लागेकाचाहिँ छैनन्।'
प्रचण्डले सदनमा एमालेले गाईजात्रा देखाएको बताए। 'सर्वोच्चको फैसला छ। निर्वाचन आयोगको फैसला छ, एउटा पार्टीलाई मान्यता दिएको छ। अब प्रमुख प्रतिपक्षी भनिएको एमाले गुटचाहिँ दिनदिनै अवरुद्ध गर्ने, नाराबाजी गर्ने गरेको छ', उनले भने, 'कहीँ कतै नाटक गर्ने ठाउँ संविधान, ऐन कानुन, निर्वाचन आयोग, सर्वोच्च अदालत दिएको छैन। तर एमाले गुटचाहिँ यो प्रतिनिधि सभा काम छैन भन्ने साबित गर्नको लागि मात्रै, पहिला आफैंले दुईपटक गरेको विघटन ठीकै हो भन्ने बनाउनका लागि सदन चल्न दिइरहेको छैन।'
उनले सदनमा नाराबाजी गर्ने कामलाई लोकतन्त्रविरोधी, निरंकुश, हास्यास्पद र लज्जास्पद गतिविधिको रुपमा अर्थ्याए। 'यो प्रतिगमनकै निरन्तरता हो भनेर हामीले पाँच दलभित्र अझ मजबुत एकता बनाउनतिर मेहनत गरिरहेका छौं', उनले भने, 'तर संविधान खारेज गर्न चाहने, परिवर्तन उल्ट्याउन चाहने तत्वहरु यो गठबन्धन टुटाउन लागिरहेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।