काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सुधारको कोसिस गर्ने भनेको बताएका छन्। बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताए।
'प्रधानमन्त्रीले अस्ति सर्वदलीय र गठबन्धनको बैठकमा पनि एमसीसीमा सुधारको गुञ्जायस छ, म पनि कोसिस गर्छु भन्नुभएको छ', प्रचण्डको भनाइ छ, 'मानौं, अप्ठ्यारो नै पर्यो भने पनि एमसीसीकै कारण गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन। त्यति कारणले टुट्न पनि हुँदैन। टुट्दैन। टुट्न पनि दिइँदैन।'
प्रचण्डले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक र गठबन्धनको बैठकमा पनि एमसीसीको विषयमा छलफल भएको र कार्यदल बनाइएको बताए। 'त्यसले कहाँकहाँ त्रुटी छ भनेर अध्ययन गर्दैछ। हिजो मात्रै त्यसको बैठक बस्यो। फेरि १७ गते बस्दैछ', उनले भने।
उनले आजकै देशको परिस्थितिमा आफूहरु विदेशी सहायता या अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नभएको बताए। त्यस्तो सहायता र अनुदानलाई स्वीकार गर्दै आएको उनले बताए। 'हाम्रो भौतिक पूर्वाधारको निम्ति आउने सहयोगलाई हामीले खुशीसाथ स्वीकार्नैपर्छ। स्वीकार्छौं पनि। तर, एमसीसी प्रोजेक्टको सन्दर्भमा केही प्रश्नहरु उठे। ती गम्भीर ढंगले उठे', उनले भने।
उनले 'ओरिजनल' सहमति संसद्मा लगेर अनुमोदन गर्ने कुरा नभएको भन्दै सो कुरा बीचमा कहाँबाट आयो? किन आयो? भन्ने प्रश्न गरे। 'त्यहाँबाट सुरु भयो यसको विवाद। नत्र पहिला विवाद थिएन', उनले भने।
प्रचण्डले अमेरिकाको ग्लोबल स्ट्राटेजीको अंग हो यो भने जस्ता प्रचारहरु आएकाले पनि नयाँ बहसलाई जन्म भएको र आम जनतामा एमसीसी भनेको राष्ट्रको हितमा छैन भन्ने बुझाइ भएको बताए।
उनले एमसीसको विषयमा जहाँनेर त्रुटी भएका छन् त्यहीँ सच्याउनुपर्ने बताए। 'ओरिजनल सहमतिबाट अर्को सहमतिमा किन लगियो भन्ने कुराको स्पष्ट पार्नुपर्छ। जुनजुन प्रावधानले हामीलाई अप्ठ्यारो पार्ने जस्ता छन्, ती प्रावधानलाई सच्याइनुपर्यो। त्यसलाई स्पष्ट पारिनुपर्योछ। जरुरी पर्दा संशोधन पनि गरिनुपर्यो', उनले भने।
प्रचण्डले एमसीसीको विषय गम्भीर र संवेदनशील भएको हुनाले राजनीतिक दलहरुको बीचमा पनि अधिकतम सहमतिको प्रयास गर्नुपर्ने, बुद्धिजीवी, पत्रकार, नागरिकहरुको पनि राय लिएर राष्ट्रिय रुपमा पनि एउटा समझदारी बनाएर मात्रै अगाडि बढाउन सकिने बताए। 'जबर्जस्ती गरियो भने यसले अप्ठ्यारो स्थिति बन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।