काठमाडौं– सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। बिहीबार सम्पन्न खेलमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो।सुदूरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्र जोड्न सक्यो।
प्रदेश २ की साना प्रविनले १४ रन जोडिन् भने बिमला मगरले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान दुई–दुई विकेट हात पारे। ईश्वरी विष्टले एक विकेट लिइन्।
यसअघि फाप्ला क्रिकेट मैदानमा विन्दु रावलको अर्धशतकमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित ५० रन जोडिन्। त्यस्तै, रुबि पोद्दारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाइन्।
प्रदेश २ लागि विमला मगरले दुई विकेट लिइन्। त्यस्तै, साना प्रविन र अनुराधा चौधरीले समान एक/एक विकेट लिए।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि समूह ‘ए’ बाट प्रदेश एक र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।
पराजयपछि प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमले ३ मध्ये २ खेल तथा एपीएफले खेलेका दुवै खेल जितेको छ। यता, प्रदेश २ ले भने ३ मध्ये केवल एक खेलमा जित हात पार्न सक्यो।
समूह ‘बी’ मा रहेको गण्डकी प्रदेशले खेलेका दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसको छ। गण्डकीले अन्तिम खेल एपीएफविरुद्ध खेल्नेछ।एपीएफ र गण्डकी प्रदेशबीच आज हुने अन्तिम खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।