ललितपुर- पाटन दरबार स्वायरको भीमसेन मन्दिरअगाडि ढल खन्ने क्रममा मंगलबार लिच्छविकालीन शिलालेख भेटिएको छ। उक्त शिलालेख राजा अंशुवर्माको पालाको भएको बताइएको छ।
शिलालेखको प्रारम्भिक अध्ययनबाट राजा अंशुवर्माको पालाको भएको पाइएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। शिलालेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ। यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ।
अहिले शिलालेख भेटिएकै स्थानमा रहेको गौतमले बताए। अब त्यसलाई सुरक्षित रूपमा पाटन संग्राहलयमा सारिने र त्यसबारे विस्तृत अध्ययन गरिने उनले बताए।
उक्त शिलालेख झन्डै ६ फिट लामो छ। यसमा राजा वृषदेवले बनाएको विहारको उल्लेख भएको विभागले जनाएको छ। यसमा मिति ‘संवत् ५३६ जेष्ठ’ उल्लेख छ।
शिलालेखबारे पूर्णरूपमा अध्ययन नसकी विस्तृतमा भन्न नसकिने गौतमले बताए। उनले भने, ‘यसलाई पाटन संग्राहलय लगेपछि राम्रोसँग सफा गरेर थप अनुसन्धान गर्छौँ। त्यसमा लेखिएको लिपि सबैले बुझ्न सक्दैनन्। लिपि बुझ्ने विज्ञहरूले अध्ययन गरेपछि मात्र के उद्धेश्यले शिलालेख बनाइएको र के लेखिएको छ भन्ने थाहा हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।