काठमाडौं– नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानमा गएका कारण तरलता (बैंकहरुमा लगानीयोग्य पुँजी) अभाव भएको जनाएको छ। सोमबार पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सोअनुसार आयात भएको जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठले आर्थिक क्रियाकलाप बढे पनि मूल्य वृद्धिदर निर्धारण गरेको लक्ष्यभन्दा कम हुने जानकारी दिए। कोभिडपछि विदेशमा मूल्य वृद्धिदरमा ठूलो चाप परे पनि नेपालले त्यो भोग्न नपरेको उनको भनाइ छ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा चुनौती भए पनि पछिल्लो समय घटेका कारण केही राहत भएको उनले टिप्पणी गरे। 'आयातलाई निरुत्साहन गर्न राष्ट्र बैंकको नीतिले सहयोग हुने अपेक्षा गर्न सकिन्छ, ब्याजदर बढेको कारण निक्षेप बढ्ने सम्भावना रहेको छ,’ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै भने।
पुस लागेपछि बैंकहरुमा निक्षेप बढ्न थालेको पनि श्रेष्ठले जानकारी दिए। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा पाँच दिनमै १६ अर्ब ८ करोड रुपियाँ निक्षेप जम्मा भएको छ। यो अबधिमा कर्जा लगानी भने जम्मा ४ अर्ब मात्रै भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पुस ५ सम्ममा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यो अबधिमा कर्जा लगानी भने ४ खर्ब ३५ अर्ब रहेको देखिएको छ।
गत चैतपछि कर्जाको वृद्धि दरले निक्षेपको वृद्धि दरलाई उछिनेको राष्ट्र बैंकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बताए। चालु आवमा बैंकहरुमा तरलता अभाब बढेको भएपनि राष्ट्र बैंकले भने चेक नसाटिने समस्या नभएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।