काठमाडौं- सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन्।
उनले एमालेले अब पनि संसद् बैठक चलाउन नदिए जनता आफैंले दण्डित गर्ने दाबी गरे।
भट्टराईले महिनौंसम्म संसद् अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझैं प्रतिगमनकारी कित्तामा उभ्याएको तर्क गरे। ‘गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाणनै संसद् अवरुद्ध गरिरहनु हो' उनले भने।
संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यही भित्र तर्क वितर्क गर्ने रहेको उनको भनाइ थियो।
‘लोकतन्त्रको मर्म विपरीत, संविधानको विपरीत त हुँदै हो। उहाँहरुले स्वीकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। यसैलाई त उहाँहरुले जनताको बहुदलीय जनवाद भनेर स्वीकार गर्नु भएको छ। त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो। बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो’ उनले भने।
एमालेको हर्कत संविधानलाई असफल पार्ने कुरा भएको उनले बताए।
अध्यक्ष भट्टराईले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।