काठमाडौं– अस्ट्रेलियाका शीर्ष क्रमका ब्याट्सम्यान मार्नस लाबुशेन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टेस्ट विश्व वरीयतामा पहिलोपटक शीर्ष स्थानमा उक्लिएका छन्।
तीन वर्षअघि टेस्टमा डेब्यू गरेका लाबुसेन स्टिभ स्मिथ र इंग्ल्यान्डका जो रुटलाई पछि पार्दै विश्व टेस्टका नम्बर वान ब्याट्सम्यान बनेका हुन्।
२० टेस्ट खेलमा ६ शतक र १२ अर्धशतकसहित कुल २ हजार १ सय १३ रन बनाएका लाबुसेनले ९ सय १२ रेटिङ अंक पाएका छन्। जारी एशेज सिरिजमा इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा लाबुसेनले ७४ रन बनाएका थिए। दोस्रो टेस्ट खेलमा पहिलो इनिङ्समा १ सय ३ र दोस्रो इनिङ्समा ५१ रन बनाउँदै उनी प्लेयर अफ द म्याच चुनिएका थिए।
यता, रुटको ८ सय ९७ रेटिङ र स्मिथको ८ सय ८४ रेटिङ अंक छ। टेस्टको बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स र अलराउन्डरतर्फ वेस्टइन्डिजका जेसन होल्डर शीर्षस्थानमा छन्।
त्यस्तै टी२० आईको नयाँ वरीयतामा पाकिस्तानका कप्तान बाबर आजम इंग्ल्यान्डका डेविड मलानलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएका छन्। बाबर ओडीआई वरीयतामा शीर्ष स्थानमा छन्।
ओडीआई वरीयता बलिङतर्फ सन्दीप ८२औं स्थानमा
ओडीआई वरीयता बलिङतर्फ नेपालका सन्दीप लामिछाने भने ८२औं स्थानमा छन् भने टी२० आई वरीयता बलिङतर्फ ८८औं स्थानमा छन्।
टी–२० आई वरियताको ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ५५ औं र ज्ञानेन्द्र मल्ल ९८औं स्थानमा छन्।
नेपाल टी–२० आई वरीयतामा १२ औं र ओडीआईको १६ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।