काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुनालाई नबोलाउने भएको छ।
आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा पार्टीका नेता र प्रतिनिधि मात्रै हुने भएका हुन्। देशैभरबाट आएका १ हजार ५ सय प्रतिनिधि मात्रै राखेर माओवादीले छलफल गर्न लागेको हो।
‘हामीले महाधिवेशन गर्दै छैनौं। राष्ट्रिय सम्मेलन गर्न लागेका हौं। त्यसैले स्वदेश विदेशी पाहुना बोलाइने छैन’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘पार्टीका नेता र देशैभरबाट आएका १५ सय प्रतिनिधि हुने छन्।’
राष्ट्रिय सम्मेलनमा माओवादीलाई अरु परम्परागत पार्टी भन्दा क्रान्तिकारी पार्टी र विचार निर्माणमा बहस हुने महराले बताए। राष्ट्रिय सम्मेलनपछि कस्तो पार्टी बन्ने विषय अध्यक्षले ल्याउने प्रतिवेदनले धेरै कुरा स्पष्ट हुने बताएको छ।
‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौं। त्यसबीचमा हामीले अरू पार्टीसँग पनि सहकार्य गर्यौं। अहिले हामी किन यो अवस्थामा छौं भन्ने गम्भीर समीक्षा हुन्छ,’ महराले भने, ‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नुछ। त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन। नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौं।’
राष्ट्रिय सम्मेलनपछि माओवादीलाई नयाँ ठाउँमा पुर्याइने महराले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।