काठमाडौं- ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाहीमा नेपाल क्रिकेट संघ (क्यान)ले पुनर्विचार गर्ने भएको छ।
राजनीतिक दलहरुले पनि यसलाई सच्याउनका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई निर्देशन दिएपछि क्यान खेलाडीहरुसँग वार्ता गरेर अगाडि बढ्न तयार भएको हो।
मङ्सिर २९ गते बसेको क्यानको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै मल्ल र दीपेन्द्र, सोमपाल र कमलमाथि कारबाही गरेको थियो।
कप्तानबाट मल्ललाई हटाएर उक्त जिम्मेवारी लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ। यता, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन। यस्तै, उनीहरूलाई छ महिनाको सेन्ट्रल कन्ट्र्याक्टसमेत राखिएको छैन।
त्यसको केही दिनपछि खेलाडीहरुले पत्रकार सम्मेलन गरेर डिभिजन ५ देखि नै आफूहरु खेल्दै आएको र यसले गर्व महसुस भएको भन्दै 'क्रिकेटलाई अघि बढाउने हो भने क्यानले छिटोभन्दा छिटो संवाद गर्नुपर्ने' आवश्यकता रहेको बताएका थिए।
खेलाडीसँग वार्ता गरेर कारबाही कम गर्ने तर कप्तान भने परिवर्तन नगर्ने निष्कर्षमा क्यान पुगेको छ।
'यदि खेलाडीले आफ्नो गल्तीलाई स्वीकार गरेको खण्डमा उनीहरुको कारबाहीलाई कम गर्ने योजना बनाइएको छ, तर वर्गीकरण र कप्तान परिवर्तन भने हुँदैन,' स्रोतले नेपाल लाइभसँग भन्यो।
ती पदाधिकारीका अनुसार चार खेलाडीहरुलाई सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिर राख्ने निर्णय फिर्ता लिन क्यान सकारात्मक भएको छ।
यही विवादका कारण टोलीको बन्द प्रशिक्षण पनि प्रभावित भएको छ। र, अन्य खेलाडीले पनि चार खेलाडीलाई साथ दिएका छन्। 'भविष्यमा ठूलो दुर्घटना नहोस् भनेर क्यान वार्ताको माध्यमबाट निर्णय लिन चाहन्छ। यसलाई खेलाडीहरुले पनि सकारात्मक रुपमा लिएर वातावरण सहज बनाउनुपर्छ,' ती पदाधिकारीले भने।
उनका अनुसार क्यानले धनगढीमा १४ र १५ गते हुने वार्षिक साधारणसभा अगाडि नै खेलाडीसँग वार्ता गरेर कुरा मिलाउने योजना बनाएको छ।
'आईसीसी ग्लोबल छनोटको तयारी अगाडि नै यो विवादलाई समाधान गरेर सौहार्द्रपूर्ण वातावरणमा क्याम्प सुरु होस् भन्ने हाम्रो चाहना हो। फेरि त्यही माग दोहोर्याएर क्यानको कदमको विरोध गरे हामी पनि त्यहीअनुसार अगाडि बढ्नुपर्ने हुन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।