काठमाडौं– राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको छ।
बुधबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा बसेको बैठकले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको हो।
बैठकमा मन्त्री बडूले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक अति आवश्यक रहेको बताए। नेपाल सरकार, संवैधानिक निकाय र कानुनबमोजिम गठन भएका निकायहरुले बनाउने कानुनहरुमा प्रत्यायोजित विधायनको व्यवस्था आफूखुशी र अनुकूल हुनेगरि व्याख्या र प्रयोग हुन थालेपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो देखाएको हो।
बैठकमा समितिका सभापति रामनारायण बिडारीले छलफलमा कानुनमन्त्रीले प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन र नियमन गर्नका निम्ति छुट्टै ऐन बनाएर संसदमा पेस गर्ने प्रतिवद्धता जनाएको बताए।
उनले प्रत्यायोजित विधायन वा सहायक कानुन, संसद्, नेपाल सरकार, संवैधानिक निकाय र कानुनबमोजिम गठन भएका निकायहरुले बनाउने कानुनहरुको बारेमा एकरुपता ल्याउनुपर्ने र उक्त कानुनहरुको मापदण्ड बनाउनु पर्ने विषयमा कानुनमन्त्री र सचिवसँग छलफल गरेको जानकारी दिए।
सभापति बिडारीका अनुसार कानूनमन्त्री बडुले चाँडै प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन गर्नका निम्ति र नियमन गर्नका निम्ति छुट्टै ऐन बनाउने सम्बन्धी मस्यौदा विधेयक संसदमा पेस गर्ने प्रतिवद्धता जनाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।