काठमाडौं– भारतविरुद्ध डिसेम्बर २६ बाट सुरु हुने टेस्ट सिरिज अघि आयोजक टोली दक्षिण अफ्रिकाका फास्ट बलर अन्रिक नोर्खिए चोटका कारण बाहिरिएका छन्। उनको हिपमा चोट लागेको र त्यही कारणले टी–२० विश्वकपपछि उनले बलिङ नगरेको बताइएको छ।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए) का प्रमुख मेडिकल अफिसर शुएब मन्जराले ईएसपीएनक्रिकइन्फोलाई भने, 'अन्रिक नोर्खिएले सकेसम्म चाँडो फिट हुन सक्दो प्रयास गरिरहेका छन् र भारतविरुद्धको एकदिवसीय सिरिजको लागि तयार हुने लक्ष्य राखेका छन्।'
नोर्खिए यस वर्ष सबैभन्दा सफल टेस्ट बलर रहेका छन्। उनी टोलीमा नहुँदा दक्षिण अफ्रिकालाई ठूलो असर पर्ने देखिएको छ। उनले यो वर्ष खेलेका ५ खेलमा २५ विकेट लिएका छन्।
उनी बाहिरिएपछि डुएन ओलिभरको प्लेइङ इलेभेनमा पुनरागमनको बाटो सहज भएको छ। ओलिभरले दक्षिण अफ्रिकाको हालको घरेलु सिजनमा सबैभन्दा बढी विकेट लिएका छन्।
नोर्खिएको अनुपस्थितिमा कागिसो रबाडाले बलिङको नेतृत्व गर्नेछन्। ओलिभर, लुन्गी एनगिडी र देब्रे हात अनक्याप्ड फास्ट बलर मार्को यान्सनले उनलाई साथ दिनेछन्। बेउरान हेन्ड्रिक्स, सिसान्डा मगला र ग्लेनटन स्टुर्मन पनि फास्ट बलिङको विकल्पमा छन्।
दक्षिण अफ्रिकी टोली सिरिजको तयारीमा जुटेको छ। सिरिज सेन्चुरियनमा बक्सिङ-डे टेस्टबाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।