काठमाडौं– विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।
कञ्चनपुरबाट पुस २७ गते सुरु गरिने यात्रा सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य गर्ने निर्णय मंगलबार सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए।
यात्राको मुख्य उद्देश्य नागरिकका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवद्र्धन गर्नु रहेको उनले बताए। त्यस्तै राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका अजेण्डा आम सर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु रहेको पाठकले बताए।
देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकातर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा गर्न नसक्ने स्थितिमा पुगेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताए। सबै भन्दामाथि देश नै हो भन्ने भावना सबैमा जागृत गराउन र उक्त भावना प्रवद्र्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन नसक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।