काठमाडौं- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।
संघीय संसदको बैठकअघि सभामुखको आह्वानमा बैठक बसिरहेको हो। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बसिरहेको छ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ र दोस्रो दिन पुस ६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। यो अधिवेशन अन्तर्गत आज तेस्रो बैठक बसिरहेको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा निरन्तर नाराबाजी गर्दै आएको छ। संसदमा विपक्षी दलले उठाएको विषय अदालतमा विचाराधिन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न सभामुखले आग्रह गर्दै आएका छन्।
संसदबाट निकास ननिस्कने र अदातलतमा विचाराधीन विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।
आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरुको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दल आवद्ध कार्यव्यवस्थाका सदस्यहरुलाई सभामुखले आग्रहसमेत गर्दै आएका छन्।
आजको बैठकमा कार्यसूचीलाई अन्तिम रुप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।