काठमाडौं– वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार उनकै कार्यकक्षमा भेटी वित्तीय क्षेत्रमा देखापरेको तरलता अभावलाई यथाशक्य समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि अनुरोध गरेको हो।
संगठनका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाले केही समयदेखि औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्नसमेत कठिनाइ भएबाट औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हुँदै गएकोतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए।
राष्ट्र बैंकले गरेको केही विलासिताका वस्तुका आयातमा प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले स्वदेशी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने उनको भनाइ थियो।
यस प्रावधानबाट उत्पादनमूलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेसिनरीहरुको आयातको सहजीकरणमा मद्दत पुग्ने बताउँदै उनले यसबाट विलासिताका वस्तुको आयातमा एकाधिकार हुन सक्नेतर्फ भने सचेत हुनुपर्ने बताए।
सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतीतपत्र खोल्न कुनै पनि कठिनाइ हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। विलासिताका केही वस्तुको आयातलाई निरुत्साहित गरेको बताउँदै उनले यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको स्पष्ट पारे।
तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गर्ने जानकारीसमेत उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।