काठमाडौं- अन्तरजातीय युवतीसँग विवाह गरेका कारण वेपत्ता भनिएका हुम्लाका चन्द्रे कामी भेटिएका छन्।
हप्ता दिनदेखि हराइरहेको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो।
दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका आरोप लगाइएको छ।
प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिकामा उनलाई फेला पारिएको हो। बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा कामीलाई फेला पारिएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।
सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गरेका थिए।
गत मंसिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मंसिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले गरेका थिए।
कामी वेपत्ता भएसँगै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।