काठमाडौं– सिन्धुलीको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जंगली हात्तीले थप चार घर भत्काएको छ । योसहित उक्त वडामा छ दिनभित्र जंगली हात्तीले २८ घर भत्काइसकेको स्थानीयले जनाएका छन्।
वडाध्यक्ष कुमार लामाका अनुसार सोमबार राति तीनवटा जंगली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काउनुका साथै अन्न र फलफूलसमेत नष्ट गरेको छ।
स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको वडाध्यक्ष लामाले जानकारी दिए। उनका अनुसार मध्य रातमा हात्ती बस्तीमा छिरेपछि स्थानीयको भागाभाग भएको थियो। योसमेत माथिल्लो पत्रिंगा र डुडेगैरीमा गरी हात्तीले आक्रमण गरी २८ घर भत्काएको छ । जङ्गली हात्तीले घर भत्काएपछि पीडित परिवारको विचल्ली भएको छ।
यसअघि सुरुमा घर भत्काएका १८ परिवारलाई शनिबार जिल्ला रेडक्रस शाखाले त्रिपाल, लत्ता कपडा, भाडा र दुधौली नगरपालिकाले खाद्यान्न सहयोग गरेको वडाध्यक्ष लामाले बताए।
जङ्गली हात्तीबाट पीडित बुधेश्वर सदा स्थानीयवासी एक ठाउँमा जम्मा भएर रातभरि धुनी तापेर बस्ने गरेको बताउनुहुन्छ । हात्तीको समूहले बस्तीमा पसेर घर भत्काउनुका साथै भण्डारण गरी राखेको धानलगायत अन्नबाली नष्ट गरेको उनले बताए।
डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटापु राष्ट्रिय निकुञ्जमा बसाइ जाने क्रममा ती हात्ती आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।