फाइल तस्बिर
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन राष्ट्रिय सम्मेलन अघि नै स्वदेश फर्किने तयारी गरेका छन्। चीनमा उपचारत पुन स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले सम्मेलनअघि स्वदेश फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइसकेको छ। सबै रिपोर्टहरु 'पोजेटिभ' हुँदै आएका छन्,’ उनले भने, ‘माओवादीको पुस ११ गते हुने राष्ट्रिय सम्मेलनअघि नै स्वदेश फर्किने तयारी छ।’ अब राष्ट्रिय सम्मेलन आउन पाँच दिनमात्रै बाँकी छ।
पुनको चीनको सेञ्जेनस्थित थर्ड पिपुल हस्पिटल अफ सेञ्जनमा उपचार भइरहेको छ। विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा बढेर स्वास्थ्यमा समस्या आएपछि गत असोजमा थाइल्याण्ड लगिएको थियो।
त्यहाँ पनि उपचार गर्न हुन सम्भव नभएपछि चीनको सेञ्जनमा लगिएको थियो। पुनको सेञ्जेन लगेको चौथो दिनदेखि नै स्वास्थ्यमा उल्लेख सुधार हुन थालेको थियो। सबै रिपोर्ट 'पोजेटिभ' देखिएकाले सम्मेलनमा सहभागी हुनेगरी नेपाल फर्किन लागेको स्वकीय सचिव पुनले बताए।
पूर्वमन्त्री पुनले पार्टी महासचिव पदमा दाबी गरेका छन्। यद्यपि, सोही पदमा पार्टी स्थायी समिति सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्माले पनि आकांक्षा राखेका छन्। अर्का स्थायी समिति सदस्य एवम् ऊर्जामन्त्री पम्फा भुसाल र गिरिराजमणि पोखरेलले समेत महासचिव पदमा दाबी गरेका छन्। अध्यक्षपछिको शक्तिशाली पद भएकाले धेरै नेताले महासचिवमा आकांक्षा राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।