काठमाडौं– ललितपुरको भैंसेपाटीमा संघीय मन्त्रीहरुका लागि बन्दै गरेको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ। ्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगतिबारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए।
निर्देशक श्रेष्ठले निवास निर्माण गर्दैगर्दा स्थानीयहरुको अवरोध तथा कोरोना महामारीको कारण निर्माण कार्यमा ढिलाइ भइरहेको बताए। उनले अवरोध हटाउनका लागि सरकारी तहबाट काम भइरहेको भन्दै चाँडै स्थानीयको समस्या समाधान गरेर एउटा निर्णय गर्ने बताए।
निर्देशक श्रेष्ठले मन्त्री निवासको भवनहरु तयार भइसकेको तर, भवनको भित्रि सजावटको काम मात्रै बाँकी हरेको बताए। उनले सजावटको लागि टेण्डर निकाल्न बाँकी रहेकाले एक महिनामा टेण्डर निकालेर ६ महिनाभित्र सजावटको बाँकी काम सक्ने योजना रहेको सुनाए।
अनुगमन पछि समितिमा बोल्दै राष्ट्रिय सभाका सांसद् बामदेव गौतमले संघीय मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभाका उप–सभामुख निवास उपयुक्त स्थानमा नभएको बताए।
सांसद गौतमले विश्वका कुनै पनि देशमा मन्त्रालय, संसद् भवनभन्दा लामो दूरीमा मन्त्री निवास नहुने बताए। उनले अहिले बन्दै गरेको मन्त्री निवासबाट मन्त्रालयमा जानको लागि कम्तिमा पनि आधा घण्टा लाग्ने बताए।
त्यस्तै, दिनानाथ शर्माले निवास निर्माणमा भएको अवरोध हटाउनका लागि ललितपुर महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुसँग बसेर समस्या र समाधानको विषयमा छलफल गर्नुपर्ने बताए। शर्माले संघीय मन्त्री निवास सांसदहरुका लागि निवास बनाउनका लागि छुट्याएको जमिन भएको बताए।
सरकारले ललितपुरको भैंसेपाटीमा मन्त्री आवास निर्माणको लागि २०७६ कार्तिक २७ गते स्रिको हनुमान जेभीसँग सम्झौता गरेको थियो। उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ वर्षको अवधि तोकेको थियो।
सम्झौता २ वर्ष तोकिए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको छ। सम्झौता भए बमोजिम उक्त आयोजनाको कार्य गत कार्तिकमै सम्पन्न गर्नुपर्ने हो। तर, कोरोनाले निकै असर परेकाले सरकारले ६ महिना म्याद थपेको हो।
मन्त्री निवास निर्माणको लागि निर्माण कम्पनी श्रीको हनुमान जेभीसँग २ वर्षअघि ९६ रोपनी १० आना जग्गामा काम गर्न १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो। सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रिय सभाको अध्यक्षको निवास, राष्ट्रिय सभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गरिने भएको छ।
दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिरहेका छन् भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल समेत बन्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।