पोखरा– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संसद्मा आफ्नो उपस्थितिले ओलीको सातो गएपनि आफूहरुको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताए।
मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसद्मा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दाबी गरे।
एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो। उनले एमालेले संसद्बाट आफूहरुलाई हटाउन दबाब दिएपनि त्यो अधिकार कसैलाई नरहेको बताए।
‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि! सातो जाओस्। केही मतलब छैन। नेपाली जनताको सातो कायम रहनु पर्छ। नेपाल राष्ट्रको गरिमा माथि उठनुपर्छ। कम्युनिस्ट आन्दोलन जोगिनुपर्छ’, कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउनु पर्छ। हाम्रो ध्येय यही नै हो। केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रुपान्तरण भएको कथित नेकपा (एमाले) त्यो हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।