फाइल तस्बिर।
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद् अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरेका छन्। उनले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफूलाई अर्मयादित बनाउनु नहुने बताए।
‘स्वाभाविक रुपमा उसले संविधानको मर्यादालाई नाघिराख्या छ। अदालतमा खोज्नुपर्ने उपचार संसद्मा खोज्ने, संसद्मा पाउनुपर्ने उपचार गएर मन्त्रिपरिषद्मा खोज्ने भनेको वास्तवमा डेमोक्रेसीलाई डिरेल गर्ने कुरा नै हो’, मगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘नेकपा (एमाले)ले लामो समय आफूलाई बडो डेमोक्रेटिक देखाउन प्रयत्न गरेको हो भने उसले यसलाई अर्मयादित गर्नु हुँदैन।’
सांसद सोमप्रसाद पाण्डेले संसद् अवरोध गर्नुपर्ने खालको कुनै मुद्दा नभएको बताए। एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क थियो। विभिन्न बखेडा झिकेर संसद् अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए।
‘हामीले बुझ्न पनि सकिराख्या छैनौँ। अब इस्यू छैन। सदनमा त्यो खालले अवरोध गर्नुपर्ने कुनै अजेण्डा छैन’, उनले भने ‘केवल अवरोधको निम्ति अवरोध भएको देखिन्छ। यो एउटा दु:खदायी कुरा पनि हो। राजनीतिक स्थिरताको निम्ति जसरी आज नेपाली जनताले हामीलाई मत दिएर झन्डै दुई तिहाइको मतको सरकार बनाएका थिए। अहिले यो अवस्थामा आइपुगेको छ।’
उनले एमालेले संसद् अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने बताए।
‘अरु पनि बखेडा झिकेर सदन अवरोध गर्ने, अरु खालका गतिविधि गरेर राजनीतिक रुपमा जुन स्थिरता ल्याउनुपर्ने त्यसको ठाउँमा अस्थिरता बढी जन्माउने खालको अवस्था सिर्जना भएको छ यो बेठीक हो’, उनले भने, ‘अहिले जुन खालको सदन अवरोध भएको छ, यसले अन्तत: राजनीतिक दलहरुलाई र स्वयम् नेकपा(एमाले)लाई पनि राम्रो गर्दैन।’
उनले जुन विषय उठाएर संसद् अवरुद्ध गरिएको छ त्यो विषय संसद् अवरुद्ध गर्ने खालको नभएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।