फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन्।
उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको दाबी पनि गरे। एमालेलाई गठबन्धन तोड्न कुनै रुचि नभएको भन्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए।
‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन। एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुचि छैन’, उनले भने, ‘सरकारमा जान कुनै रुचि छैन। नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन। हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस्। यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ। र, स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन। कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ।’
त्यस्तै, एमालेका अर्का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद् अवरोध गरिरहेको आरोप लगाएका छन्। एमालेले संसद् चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षबीचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मूडमा रहेको उनको भनाइ थियो।
एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय मुद्दाहरूमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने पक्षमा रहेको तामाङले बताए।
‘हामीले पहिलो दिनदेखि नै संसद् चलाउने हो भने सत्तापक्ष र प्रतिपक्षबीचको वार्ता हुनु जरुरी छ। अजेण्डाहरु थुप्रै छन्।ती अजेण्डाहरुमा सहमतिको आधारमा जान सकिन्छ भनेकै छौँ तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मूडमा छैन’ उनले भने, ‘पेलेरै जानेखालको मूडमा देखिन्छ। त्यसैले हामीले पनि संसद्को अवरोध कायमै राख्छौँ।’
सिंगल सिंगल रोष्ट्रममा उभिएर आफ्ना कुरा राख्दा नसुनेपछि सामूहिक रुपमा नाराको माध्यमद्वारा कुरा राखेको तामाङले बताए। उनले भने ‘हामीले सत्तापक्षसँग प्रतिपक्षको वार्ता चाहेका हौँ। छलफल चाहेका हौँ। राष्ट्रिय इस्यूहरुमा त्यहाँ छलफल गरेर, निष्कर्ष निकालेर अगाडि जान सक्छौँ। हाम्रो कुरा यही हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।