फाइल तस्बिर
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्र शाहबीच पाँचबुँदे सहमति भएको पुष्टि गर्न चुनौती दिएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा तत्कालीन माओवादी द्वन्द्वकालमा प्रचण्ड र पूर्वराजा शाहबीच पाँचबुँदे सहमति भएको आरोप लगाएका थिए। यादवले उक्त आरोपको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका हुन्।
‘हामीले ज्ञानेन्द्रसँग कुनै सम्झौता गरेका थिएनौं। सबैपक्षसँग छलफल गर्थ्यौं,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘ओलीजीले कि त प्रमाण पुर्याउनुपर्यो, नभए यो देशको ठूलो पार्टीको नेता, दुई पटक प्रधानमन्त्री भइसकेको मान्छेले यस्तो आरोप लगाउनु कति उचित हो?’ देशको आमूल परिवर्तनको पक्षमा लडेको नेतालाई आरोप लगाउनु ओलीको विशेषता नै भएको यादवले बताए।
ओलीले आफूलाई मन नपर्ने नेतालाई हिलो छ्याप्ने गरेकाले प्रचण्डलाई यस्तो आरोप लगाउनु अनौठो नभएको उनको भनाइ छ। ‘तत्कालीन माओवादी दीर्घकालीन जनयुद्धमार्फत् जनवादी क्रान्ति गर्ने लक्ष्यमा थियो। त्यतिबेला विभिन्न पक्षसँग संवाद र छलफल भइराखेको थियो,’ यादवले भने, ‘तर, प्रचण्ड र ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भन्नु हावादारी कुरा हो। यदि सहमति भएको भए ओलीजीसँग होला, लिखित सम्झौता पनि होला, सार्वजनिक गर्नुस्।’
ओली प्रचण्डलाई कसरी बद्नाम गर्न सकिन्छ भनेर लागिपरेकाले त्यस्ता आरोपमा कुनै सत्यता नभएको यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।