काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन्।
उनले दीक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पुर्याउनुपर्ने बताए।
मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताए।
उनले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने महसुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनुपर्ने बताए।
मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धतासमेत जनाए।
उनले विदेशीन बाध्य भएका विद्यार्थीहरुलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।