काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केपी शर्मा ओलीले अहिले पनि प्रतिगमनको बाटोमा नै अघि बढिरहेको दाबी गरेका छन्।
समाजवादी प्रेस संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले ओली अहिले पनि प्रतिगमनको बाटोमै रहेको बताएका हुन्। ‘केपी ओली अहिले पनि प्रतिगमनको बाटोमा नै छन्। सदनभित्र जे देखेर भोगिरहेका छौं त्यो प्रतिगमनकै निरन्तरता हो,’ उनले भने, ‘संविधान मिच्ने, लोकतान्त्रिक परम्परा मिच्ने, प्रतिगमन निम्त्यिाउने वातावरणतर्फ लागिरहेकै छन्।’
औलीले गरिरहेको निरन्तरको प्रयासले आफूहरु सबैलाई सर्तक हुन मद्दत गरेको उनले बताए।
‘संविधान, लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धनलाई निरन्तरता दिएर हामी अघि बढ्न चाहिरहेका छौं,’ उनले भने, ‘ओलीजीले गरिरहेको चालबाजी कुनै पनि हालतमा सफल हुँदैन।’
लगातार सदन अवरुद्ध राख्नुको पछाडि त्यही अवस्था रहेको उनको भनाइ थियो।
गठबन्धनलाई कुनै पनि हालतमा टुक्रिन नदिनका लागि हामी जिम्मेवार रहेको भन्दै प्रचण्डले प्रधानमन्त्री पनि त्यसको पक्षमा नरहेको बताए।
ओलीले माधव नेपाल भएको कार्यक्रममा सहभागी नभएर अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको प्रचण्डले बताए।
‘अदालतले ह्वीप लाग्दैन भनेको छ। सभामुखले समयमा नै निर्णय लिनुभएको छ। अहिले पनि केपीजी माधवजी देखिएपछि उपस्थित हुनै नमान्ने। माधव जी कही जाने भनेपछि त्यहाँ नजाने। यो भन्दा अराजनीतिक र अलोकतान्त्रिक चरित्र कही हुन्छ,’ उनले भने।
आफूहरुले प्रतिगमनविरुद्ध लड्नका लागि अझ व्यापक रुपमा जनतालाई प्रशिक्षत गर्न प्रेरित गरिरहेको भन्दै प्रचण्डले गठबन्धन निरन्तर आगामी निर्वाचनसम्म नै लैजाने विषयमा छलफल भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।