काठमाडौं–नेपाली कांग्रेसको प्रवक्तामा नेता रमेश लेखकको चर्चा चलेको छ। सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्यमा विजयी भएका लेखकलाई प्रवक्ता बनाउने सम्भावना बढी रहेको बताइएको छ।
प्रवक्ता पार्टी सभापतिले मनोनित गर्ने व्यवस्था छ। देउवाका विश्वासपात्र नेताका रुपमा परिचित लेखकलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ। सभापतिका कार्यको प्रतिरक्षा गर्न सक्ने नेताका रुपमा उनी परिचित छन्।
पदाधिकारीमा रुचि नदेखाएका लेखक वरिष्ठ अधिवक्तासमेत हुन्। देउवाले कानुनी सल्लाह लिन तथा अदालती प्रक्रियामा लेखकलाई जिम्मेवारी दिँदै आएका छन्। दोस्रो संविधान सभा विघटन पश्चात् सर्वोच्चमा रिट दायरदेखि वकालतका लागि कानुन व्यवसायी खटाउने कार्यमा लेखक सक्रिय भएर लागेका थिए।
द्वन्द्वकालीन दुई आयोगमा पदाधिकारी चयन तथा अवधि थप्ने विषयमा पनि उनले आवश्यक परामर्श सभापतिलाई दिँदै आएका थिए।
लेखकले खुला तर्फको केन्द्रीय सदस्यमा सातौं स्थानको मत ल्याएका थिए। उनले २७८० मत प्राप्त गरेका थिए। गत निर्वाचनमा लेखक कञ्चनपुर तत्कालीन वाम गठवन्धनका उम्मेदवार दीपकप्रकाश भट्टसँग पराजित भएका थिए।
यसअघि देउवाले प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनित गरेका थिए। शर्मा महामन्त्रीमा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।