काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशामा लैजानेतर्फ सबैले अग्रसर हुनु आवश्यक रहेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दिन, पुस ५ लाई कालो दिनका रुपमा मनाउने क्रममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘अहिलेको आवश्यकतालाई महसुस गरेर त्यस दिशातर्फ देशलाई अघि बढाउनुको विकल्प छैन,’ उनले भने, ‘हामीले धेरै ठूलो त्याग र तपस्याबाट बनाएको संविधानको खिलाफ, संविधानले परिकल्पना नगरेको, नेपाली जनताको भावना र इच्छाभन्दा विपरीत प्रतिनिधिसभा विघटन गरेर केपी शर्मा ओलीले मुलुकलाई अध्यारो सुरुङतर्फ लैजाने दुस्साहस गरेका थिए।’
पाँच दलीय गठबन्धनले त्यसलाई परास्त गरेको भन्दै उनले मुलुकमा संविधानको रक्षा भएको बताएका छन्। पाँच दलीय गठबन्धनका रुपमा मुलुक अहिले अघि बढिरहेको भन्दै कार्कीले मुलुकको राजनीतिलाई उचित बाटोतर्फ ल्याउने काम भएको बताए।
‘देउवाको नेतृत्वमा विधिको शासन, लोकतान्त्रिक बाटोमा अघि बढेको छ। अबका दिनमा हाम्रो पुस्ताले राजनीतिक पद्धतिका लागि संघर्ष गर्नु नपरोस् भनेर लाग्नुपर्छ,’ कार्कीले भने, ‘धेरै ठूलो त्याग र तपस्यालाई अक्षुण राख्दै आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने दायित्वतर्फ हामी अघि बढ्नुपर्ने देखिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।