काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले एमालेसँग बसेर वार्ता नै गर्न नचाहेको बताएका छन्।
सोमबारको राष्ट्रिय सभाको बैठक अवरोध गर्ने क्रममा उनले भने, ‘सरकारले हामीसँग वार्ता नै गर्न चाहेको छैन। अरु अरु नै कुरामा ध्यान दिइरहेको छ।’
सदन सञ्चालन गर्नाका लागि प्रमुख प्रतिपक्षी जिम्मेवार हुनुपर्ने हो की सत्तापक्ष जिम्मेवार हुनुपर्ने हो भन्दै उनले प्रश्न गरे।
‘हामीले दशौं अधिवेशनमा जुन कुरा उठाएका थियौं ती यथावत रहेका छन्। ती कुनै कुराहरु सम्बोधन भएका छैनन्। हाम्रो पार्टीले कारबाही गरेका सांसदहरु प्रतिनिधि सभामा अहिले पनि सांसदकै रुपमा प्रस्तुत भएका छन्’, उनले भने, ‘नेकपा एमालेले के भनिरहेको छ। त्यो कुरा न सरकारले सुनेको छ न प्रतिनिधि सभाका सभामुखले नै ध्यान दिएको अवस्था छ। सुनेको नसुनेइ गर्ने समय गुजार्न काम भएको छ।’
प्रमुख प्रतिपक्षी दल उपस्थित नहुने गरेर सर्वदलीय बैठक डाकेर देखाउने काम मात्रै गरिएको उनको भनाइ छ।
‘परमादेशी सरकार गठन भएपछि विकास निर्माणको काम ठप्प छ। हिजो भ्रष्टाचार बढ्यो भनेर चिच्चाइरहनेहरु आज कुन कुनामा पसे?’, उनले भने, ‘हिजो तीव्र रुपमा विकास निर्माणको काम भइरहेको बेला विरोध गर्ने काम भयो।’
उनले आफूहरुले उठाएको विषयको जवाफ नआउन्जेल सदन अवरुद्ध जारी रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।