काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजोआज पार्टीका कार्यक्रममा फरक तरिकाले पेस हुन थालेका छन्। केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश कमिटी गठन र केन्द्रीय नेतृत्वको कार्यविभाजनपछि ओलीले आफूलाई प्रस्तुत गर्ने शैली बदलेका हुन्।
कार्यविभाजन र जिम्मेवारी प्रदानका समयमा सहयोद्धालाई चोट पुर्याएका उनी हिजोआज मलम बोकेर हिँड्न थालेका छन्। ‘गहिरै घाउ पो बन्यो कि?’ भन्ने टोनबाट सान्त्वना समेत दिइरहेका छन्। उनले मंगलबार र बुधबार एउटै कुरा दोहोर्याए, ‘कतै–कतै न्याय नभएको पनि हुन सक्छ।’
कमिटीहरु गठन र जिम्मेवारी प्रदानमा फरक मत राख्नेहरुमाथि उनले छुरा चलाएका थिए। कोही कमिटीमा अटेनन्, कार्यकर्ताले एमालेको कमिटीमा पुर्याएकालाई पनि ओलीले जिम्मेवारी दिएनन्।
आफ्नो विचारलाई ‘बा’को आदेशका रुपमा शिरोपर नगर्नेहरु त उनको कोपभाजनका सिकार बने नै। कतिपय ‘बा’को गुनगानमा हमेसा लागिरहनेहरुले समेत अपेक्षित भूमिका र जिम्मेवारी प्राप्त गर्न सकेनन्।
उनीहरुले सार्वजनिक रुपमै यसको प्रतिबाद गर्न थालेपछि ओली अहिले ‘दार्शनिक अवतार’मा उत्रिएका हुन्। पार्टीको आन्तरिक कार्यक्रममा उनको प्रस्तुति असन्तुष्टहरु लक्षित हुन्छ।
साँघुरो मन बनाएर फरक विचार राख्नेहरुलाई भित्तामा पुर्याएका उनी अहिले भनिरहेका छन्, ‘फराकिलो छाती बनाउनुपर्छ। फराकिलो छाती भनेको भावना फराकिलो बनाउनु हो। देशभरि, जनताभरि, उद्देश्यभरि, मानवजाती भरिका लागि फराकिलो छाती बनाउनुपर्छ।’
ओलीको चोट
ओलीले एमालेको दशौं महाधिवेशनबाट आफ्नो छत्रछायाँमा बस्न नरुचाउनेलाई ‘नारायणी बगर’मा मिल्काउन थालेका हुन्। चितवनमा भएको महाधिवेशनमा एमाले नेता भीम रावल त प्रतिस्पर्धी बनेर पछारिए।
पार्टीको अन्तरसंघर्षमा फरक विचार राखेकाहरु घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीलाई ओलीमय अधिवेशनले पदाधिकारीमा ल्याउन चाहेन। पदाधिकारीका आकांक्षी कार्की स्थायी कमिटी त के, पोलिटब्युरोमा समेत अटाएनन्। योग्यता र क्षमताका हिसाबले स्वाभाविक रुपमा बढुवा हुनुपर्ने गोकर्ण विष्ट र योगेश भट्टराई सचिवमै थन्किए।
एमाले अन्तरसंघर्षमा कुनैबेला फरक कित्तामा उभिएका कारण जिम्मेवारीविहीन हुने वा उपयुक्त अवसर नपाउने नेताहरुको सूची लामो बनेको छ
विष्ट र भट्टराईमाथिको अन्याय यहीँ रोकिएन। वौं र दशौं महाधिवेशनमा सचिवमा सर्वाधिक मत ल्याएका विष्ट जिम्मेवारीविहीन बनाइएका छन्। ओलीनिकट स्थायी कमिटी सदस्यले समेत महत्त्वपूर्ण विभागको जिम्मेवारी पाएका छन्।
वरीयता निर्धारण गर्दासमेत उनीहरुलाई माओवादी केन्द्रबाट आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट र पहिलोपटक पदाधिकारी बनेका रघुवीर महासेठको पछाडि पारिएको छ।
एमाले अन्तरसंघर्षमा कुनैबेला फरक कित्तामा उभिएका कारण जिम्मेवारीविहीन हुने वा उपयुक्त अवसर नपाउने नेताहरुको सूची लामो बनेको छ।
बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले समेत एमालेको केन्द्रीय सदस्य बन्ने अवसर पाए। तर, महाधिवेशनमै चुनाव लडेर केन्द्रीय सदस्य हुने क्षमता राख्ने दीपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, योगेन्द्र शाही, अर्चना गहतराज, सुवास कर्माचार्यले स्थान पाएनन्। यी पाँचजनाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, पछि मनोनित गर्ने भन्दै उनीहरुलाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो। एमालेका पुराना नेता नरेश खरेल पाखा लागेका छन्।
एमालेमा क्षमतावान नेताका रुपमा चिनिने कृष्णभक्त पोखरेललाई पनि ओलीले ‘इग्नोर’ गरेका छन्। दुईपटक चितवन जिल्ला अध्यक्ष भइसकेका उनलाई नेकपाकालमा पनि ‘अपमान’ गरिएको थियो। एमाले–माओवादी एकता भएपछि माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष बनाएर उनलाई घटुवा गरेर सचिव बनाइयो। दुईपटक सांसदसमेत भइसकेका उनी न्यायको आशामै छन्।
नेपाल लाइभसँग कुरा गर्दै पोखरेलले भने, ‘मलाई केन्द्रीय कमिटीमा राखिन्छ भन्नेमा पूर्ण विश्वासमा थिएँ। पार्टीलाई के कस्तो अवस्था बन्यो र मलाई केन्द्रीय सदस्यमा समेटिएन थाहा छैन। तर, पार्टीले न्याय गर्नेमा विश्वस्त छु।’
श्रीमाया थकाली एमालेको आठौं महाधिवेशनमै वैकल्पिक पोलिटब्युरो सदस्य निर्वाचित भएकी थिइन्। नवौं महाधिवेशनपछि उनी पोलिटब्युरो सदस्य बनिन्। तर, दशौं महाधिवेशनपछि भने उनलाई केन्द्रीय सदस्यमै सीमित राखिएको छ। ओलीनिकट जुनियर नेताले अवसर पाइरहँदा लगातार ३ पटक केन्द्रीय सदस्य निर्वाचित ममता गिरी पनि पोलिटब्युरोमा परिनन्।
मलम लगाइरहेका ओली
एमालेमा जिम्मेवारी बाँडफाँटको मौसम सकिएको छ। अध्यक्ष ओलीमा आगामी निर्वाचनबाट फेरि सत्तारोहण गर्ने लालसा कायम छ। एमालेभित्रको यही असन्तुष्टिको आगो डढेलो हुन थाल्यो भने सम्भव नहुने ओलीले महशुस गरेका छन्।
त्यसैले मंगलबारदेखि उनको लवज फेरिएको छ। आफूले कहीँकतै ‘अन्याय’ गरेको हुनसक्ने भन्दै ढाडस दिइरहेका छन्। बुधबार मनोनित ४४ जना केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा उनले आफ्नो निर्णयले ‘कहीँकतै न्याय नभएको हुनसक्ने’ उल्लेख गरे।
गल्ती स्वीकारोक्तिको भावमा उनले भने, ‘कसै–कसैको चित्त नबुझ्न सक्छ। कतै–कतै नभएको पनि हुन सक्छ। कति सूचनाको अभाव होला। कति अन्तर्यको जानकारीको अभाव होला। त्यसैले साँच्चै न्यायको बिन्दुमा नपुगिएको पनि हुन सक्छ।’
यति ‘रियलाइजेसन’पछि ओली ‘दार्शनिक’ बन्ने कोशिसतिर लागे। उनले चित्तमाथि प्रवचन दिए। उनले भने, ‘मान्छेको चित्त हो, त्यसैले दुख्छ। तर, यो चित्त खोज्दा भेटिदैन। तर, चित्त छ, त्यहीकारण बुझ्दैन। चित्त भेटिँदैन तर, यसले उपद्रो मच्चाउँछ। चित्त बलवान छ।’
उनी आफैंले चित्तको परिभाषासमेत दिए, ‘चित्त भनेको मनको स्थिति। मन भनेको मस्तिष्क हो। सचेत मस्तिष्कले बुझेन। त्यसैले चित्त बुझेन।’
प्रायः ‘जिब्रोमा छुरा बोकेर हिँड्ने’ ओली बुधबार नेताहरुलाई ‘मह राख्न’ सुझाइरहेका थिए। उनी भन्दै थिए, ‘टाउकोमा बरफ र जिब्रोमा मह, छातीमा पवित्र भावना राख्नुहोस्।’
उनले मंगलबार पनि आफूबाट कुनै कमीमजोरी भएन भन्ने दाबी नरहेको बताए। संसदीय दलको बैठकमा बोल्दै उनले असन्तुष्टिका स्वर आफूले पनि सुनिरहेको बताउँदै आगामी दिनमा मिल्दै जाने उल्लेख गरेका थिए।
उनले भनेका थिए, ‘कार्यविभाजनलाई लिएर कतैकतै असन्तुष्टिका स्वर सुनिएका छन्। आगामी दिनमा मिल्दै जान्छन्। कुनै कमी रहेको छैन भन्ने दाबी गर्न सकिँदैन।’
पार्टीमा ८ लाख बढी क्रियाशील सदस्य रहेको बताउँदै व्यवस्थापनमा कहीँकतै नमिलेको हुनसक्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।