काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा महामन्त्री डा शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। शनिबार साँझ पौडेलनिवास बोहराटारमा भेटवार्ता भएको हो।
'सभापति देउवाले वरिष्ठ नेता पौडेललाई भेट्न खोज्नुभएको थियो। उहाँले तपाईं आउनुस् भन्नुभयो। पौडेललाई भेट्न जानुभएको हो,' डा शशांकनिकट एक नेताले भने, 'उहाँ (पौडेल)ले नै बोहराटार बोलाएपछि त्यहाँ जानुभएको हो।'
भेटवार्तामा देउवाले वरिष्ठ नेता पौडेललाई राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् भनेका थिए। जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त, आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए। महाधिवेशनबाट स्वस्थ प्रतिस्पर्धामार्फत् नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिएका थिए।
देउवाले पार्टीको जारी १४औं महाधिवेशनमा पुन: सभापतिका उम्मेदवारी दर्ता गराएका छन्। सभापतिकै आकांक्षी रहेका पौडेलले भने आफूपक्षीय नेताहरुबीच एकल उम्मेदवार बनाउन सहमति नजुटेपछि आफू महाधिवेशनको प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए। अर्का आकांक्षी डा शशांक पनि पछि हटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।