काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वडा, क्षेत्र लगायतमा सर्वसम्मत गरे जस्तै केन्द्रमा सभापति र सिंगो कार्यसमिति सर्वसम्मत बनाए राम्रो हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग बोल्दै निधिले कहिलेकाहीँ तलबाट पनि केन्द्रले सिक्दा राम्रो हुने टिप्पणी गरे।
'यस पटक हामीले नीति महाधिवेशन गर्न सकेनौं। निर्वाचित महाधिवेशन मात्रै गर्ने भयौं। म सभापतिको उम्मेदवार छु। म अझै सहमतिबाट निर्वाचन होस् भन्नेमा छु’ निधिले भने, ‘अहिले यो निर्विरोध देशभरका वडा अधिवेशन क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा भएको छ। केन्द्रमा नेताहरुले हामीले त्यहाँबाट सबक सिकेर प्रेरणा लिएर निर्विरोध सभापति र कार्यसमिति बनाउन सके कति राम्रो हुन्थ्यो।’ केन्द्रले पनि स्थायनीस्तरबाट सवक सिकेर सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत बनाए धेरै राम्रो हुने निधिले बताए।
‘यो देश सबैको हो भन्नेगरी काम गर्नुपर्ने छ। हामीले काम गर्ने भनेको दलीय प्रणालीमा दलबाट हो। जसका लागि हाम्रो कांग्रेस पार्टी हो’ निधिले भने, ‘त्यसैले सभापतिको उम्मेदवारको रुपमा पेस गरेको छु। संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमा संविधान जारी गरेका छौं। यसको सफल कार्यान्वयन अहिलेको आवश्यकता हो।’
संविधानको सफल कार्यान्वयन कांग्रेस बाहेक कुनै शक्तिले नसक्ने निधिले जिकिर गरे। कम्युनिस्ट, राजावादी, क्षेत्रीयतावादी कुनै दलले संविधानको सफल कार्यान्वयन गर्न नसक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।