काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्ता र नयाँ विचार बोक्नेहरुलाई अब पार्टीले स्थान दिनुपर्ने बताएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा भण्डारीले कांग्रेसमा पद पाउनका लागि कपाल फुलाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्ने बताए।
कांग्रेस भित्रका साथीहरुका बीचमा पनि बोलाचाल बन्द हुने अवस्था अहिलेको निर्वाचन प्रणालीका कारण आएको उनको टिप्पणी थियो।
अहिले पार्टीको आन्तरिक लोकतन्त्रका लागि हुने निर्वाचनसमेत अब गलत हुन लागेको उनले बताए । ‘निर्वाचन पनि नयाँ विकल्प आवश्यक हुन थाल्यो। अब निर्वाचनको विकल्प खोज्नुपर्ने भएको छ ’ उनले भने ‘अहिलेको निर्वाचनले कांग्रेसभित्रका मानिसहरुकाबीचमा पनि एक वर्षसम्म बोलचाल बन्द होला जस्तो भयो।’
उनले वरिष्ठ नेता रामचन्द्र पौडेल जस्तो विचारको समूहलाई तिमी नउठ भन्नुपर्दा उनी निराश देखिएको भन्दै पार्टीभित्र पद पाउनका लागि कपाल फुलाउनै पर्ने अवस्था सिर्जना हुँदै जानु दु:खद् भएको बताए।
‘म पार्टी सभापति भएको भए सबैलाई बोलाएर निर्विरोध बनाइदिन्थे’ उनले भने ‘सबैले पद पाउन कपाल फुलाउनुपर्ने कुराले झन् समस्या भएको छ। नयाँ विचार वोक्नेहरुलाई स्थान दिनुपर्छ।’
हरेक दिन नयाँ कुरा आउने भएकाले त्यसको आवश्यकता सबैलाई हुने कुरा ध्यानमा राख्दै राजनीतिक नेतृत्व पनि यसैगरी परिर्वतन हुनुपर्ने उनले बताए।
‘तपाईलार्ई नयाँ क्यामेर र नयाँ मोबाइल चाहिन्छ भने नयाँ नेता पनि चाहिन्छ नि’ उनले भने ‘हामीले सबैलाई बुढा बनाइसक्यौं।’ उनले संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाइसकेको भन्दै अब घोषणा गर्न मात्र वाँकी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।