काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्णप्रसाद सिटौलालाई भेटेर फर्किएका छन्।
बुधबार विहान चण्डोलस्थित निवासमा आफूपक्षीय नेताहरुसँग गुटगत छलफलमा रहेका सिटौलालाई भेट्न वरिष्ठ नेता पौडेल पुगेका थिए।
बानेश्वरस्थित अनुपम फुडल्याण्डमा आफूपक्षीय भेला सुरु भएपछि बाहिरिएका नेता पौडेल सिटौला निवास पुगेका हुन्।
सभापतिमा आफूलाई सहयोग गर्न भन्दै पौडेल सिटौलालाई भेट्न पुगेका थिए। मंसिर २४ गते देखि सुरु हुन गइरहेको कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट साझा उम्मेदवार तय हुन नसकेको अवस्थामा पौडेल र सिटौलको भेट भएको हो।
संस्थापनपक्षबाट शेरबहादुर देउवाले फेरि पनि सभापतिको दाबी गरेको अवस्थामा उनी विरुद्ध साझा उम्मेदवार तय गरेर जाने पौडेलपक्षको तयारी छ।
पौडेलपक्षले साझा उम्मेदवारी तय गर्नका लागि पछिल्ला दिनहरुमा छलफल बाक्लो बनाएको छ। केही दिन यता लगातार छलफलमा रहेको पौडेलपक्षले बुधबार भेलाको आयोजना गरेको छ। संस्थापनइतरले आजै बेलुकासम्ममा साझा उम्मेदवार तय गर्ने दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।