काठमाडौं- नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम ई बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन्।
प्रत्येक प्रदेशमा बीबीएम ई विजनेश पढ्न चाहने एक जना छात्रालाई पूर्ण, १४ जना विद्यार्थीलाई ट्युसन फिमा सतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेसन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको हो।
समझदारीपत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे। चेम्बरसँगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाइका एक करोड १७ लाख रुपैयाँ सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए।
चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलव्ध गराउने बताए। लक्षित वर्गमा सो सहयोग रकम पुगोस् भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाइ थियो।
सूचना प्रविधिको विकाससँगै अबको दिनमा ई बिजनेस शिक्षा प्रभावकारी हुने जलानले बताए। खल्ती वालेटसँगको सहकार्यमा पढाइ पूरा गरेका विद्यार्थीलाई रोजगारीसमेत उपलब्ध गराउने गरी समझदारीपत्रमा हस्ताक्षर भएको बताइएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ई बिजनेसमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तीले दुई वर्षसम्म सशुल्क इन्टर्नसिपको व्यवस्था गराउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।