काठमाडौं– कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्नका लागि बुधबार गर्ने भनिएको बैठकको सबै जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिइएको छ।
संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा जुटेका नेताहरु मंगलबार पनि सहमतिमा पुग्न सकेका छैनन्। तर, मंगलबारको छलफलबाट साझा उम्मेदवारको सम्भावना बढेर गएको नेताहरुको भनाइ छ।
संस्थापन इतर पक्षबाट वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। महामन्त्री कोइरालाले भने सहमति हुने अवस्थामा आफू सभापतिको उम्मेदवारीको दाबेदारीबाट पछाडि हट्ने बताएका छन्।
वरिष्ठ नेता पौडेलले पनि सहमति जुट्ने अवस्था आए लचिलो हुनसक्ने बताएका छन्।
बुधबार संस्थापन इतर पक्षका पूर्व र वर्तमान (नवनिर्वाचित) जिल्ला सभापति, केन्द्रीय समिति सदस्य, नवनिर्वाचित प्रदेश अध्यक्षसहितको बैठक बस्ने जनाइएको छ।
अनुपम फूडल्याण्डमा बस्ने भनिएको बैठकमा संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी रहेका अन्य ३ नेता सहभागी हुने छैनन्। बुधबारको बैठकमा सहभागी हुने कुरा वरिष्ठ नेता रामचन्द्र पौडेलले सुन्नेछन्।
उनीहरूको परामर्शअनुसार सभापतिका ४ जना आकांक्षीबीच छलफल गरी साझा उम्मेदवारको विषयमा टुंगोमा पुग्ने एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।